मिटरब्याज पीडितको पक्षमा बालेन- ‘आन्दोलन खुलामञ्चमा होइन प्रधानमन्त्री निवासअघि गर्नुपर्छ’

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) ले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।

सोमबार आन्दोलनका लागि खुलामञ्च पुगेका मिटरब्याज पीडितलाई महानगरले रोकेको थियो । त्यसको विरोध भएपछि मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएर खुलामञ्चमा गरिएको तयारीहरु शंकास्पद रहेको बताए । साथै खुलामञ्च निषेधित क्षे त्र नभएको र नहुने समेत स्पष्ट पारेका छन् ।

‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’ उनले भने ।

अन्य कुनै कारण नभइ सुरक्षित स्थानका लागि विकल्प दिइएको बताए । पीडितहरुले अन्यत्र जान नमानेपछि आफूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देखाइदिएपछि उनीहरु त्यसतर्फ गएको बताए ।

‘काठमाडौँ महानगरले उहाँहरुको सुरक्षीत बसाइका लागि अन्यत्र सुरक्षीत स्थानमा बसोबासको विकल्प दिइएको हो । तर उहाँहरुले खुलामञ्च भन्दा अन्य विकल्पहरु मान्न तयार हुनु भएन । खुलामञ्चको बिषयमा अनावश्यक उर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिए पछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

गाउँगाउँमा सिंहदरबार ल्याउने भन्दै तीन तहका सरकार बनाए पनि साना समस्याहरु स्थानीय र प्रदेश सरकारले पूरा गर्न नसकेको भन्दै संघीयतामाथि नै प्रश्न उठेको उनले बताए ।
पीडितहरुलाई माइतीघरले न्याय दिने नभइ आजै सरकारले पीडितहरुलाई न्यायको अनुभूति गराई घर फर्किने वातावरण बनाउनुपर्ने उनको जोड रहेको छ ।

‘पिडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने हो । यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो । पिडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो ।’ उनले भने ।

मिटरब्याज पीडितहरुको आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभइ न्यायको लागि भएको भन्दै केन्द्र सरकारले त्यसमा चासो देखाउनुपर्ने उनको माग रहेको छ ।

‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरि सम्पुर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’ उनले भने ।

गत चैत २ गतेबाट महोत्तरीका मिटरब्याज पीडितहरु ११ दिन हिँडेर काठमाडौं आइपुगेका छन् । आइतबार काठमाडौं आइपुगेका उनीहरुले सोमबारबाटै आन्दोलन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?