काठमाडौं । जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जिल्लाबासी र गठबन्धनबाट बारामा चुनाव लड्न आग्रह आइरहे पनि आफूले त्यसबारे धारणा नबनाइसकेको बताएका छन् ।
आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले सो कुरा बताएका हुन् ।
‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ । पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ,’ यादव भन्छन्, ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन । मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।’
उपनिर्वाचनमा मधेश केन्द्रित दलले मोर्चाबन्दी गरे जित कसरी सम्भव छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्को छोड्न हुँदैन । खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ ।’
बारा क्षेत्र नं २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । जसमा गठबन्धनको समर्थनमा जसपाले उपनिर्वाचनमा भाग लिँदैछ । गत मंसिरको निर्वाचनमा यादव सिरहा क्षेत्र नं २ बाट पराजित भएका थिए । आगामी निर्वाचनमा बारा–२ बाट उनलाई चुनाव लडाउने चर्चा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया