कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा चालू आर्थिक वर्षको ८ महिनामा बजेट खर्च न्यून देखिएको छ । यो अवधिमा स्थानीय सरकारले सन्तोषजनक रूपमा बजेट खर्च गर्न सकेको छैन ।
संघीय र प्रदेश सरकारले आवश्यकताअनुसार बजेट उपलब्ध नगराएको गुनासो गर्ने स्थानीय सरकारले संघीय सरकारकै अनुदानलाई आधार मानेर बनाएको बजेट खर्च गर्ने क्षमताको भने विकास गर्न सकेको छैन । स्थानीय सरकारको चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको बजेट खर्च पनि निराशाजनक देखिएको छ ।
गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार चालूतर्फको बजेट खर्च ४९.५३ प्रतिशत पुग्दा पुँजीगत खर्च २०.२२ प्रतिशत मात्रै भएको छ । पालिकाको कुल बजेट खर्च ३५.६१ प्रतिशत बराबर देखिएको छ । आयतर्फ भने ६१.८५ प्रतिशत भएको छ । स्थानीय सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिक अवधिमा कुल ३५ करोड ३३ लाख २१ हजार ९२९ रुपैयाँ बराबर आय भएकोमा १५ करोड ९४ लाख ३ हजार ८७० रुपैयाँ बैंक मौज्दात देखाइएको छ ।
स्थानीय सरकारको आन्तरिक आय रकम प्रस्तावित आय भन्दा न्युन देखिएको छ । एकीकृत सम्पत्ति कर, भूमिकर/मालपोत, घरबहाल कर, बहाल विटौरी कर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दस्तुर, नाता प्रमाणित, अन्य तथा व्यावसाय दस्तुर शीर्षकमा लक्ष्यभन्दा न्यून आय देखिएको हो । संघीय सरकारको समानिकरण अनुदान, चालुतर्फ शसर्त अनुदान, पुँजीगततर्फ शसर्त, विषेश, समपूरक अनुदान गरी कुल १६ करोड ७ लाख ६० हजार ५ सय रुपैयाँ आय भएको छ भने प्रदेश सरकारको अनुदान शून्य देखिएको छ ।
व्ययतर्फ कुल २० करोड ३४ लाख २५ हजार १०८ रुपैयाँ पुगेको छ । यस अवधिमा स्थानीय सरकारले चालू खर्च १४ करोड ८५ लाख ५३ हजार २०२ रुपैयाँ र पुँजीगत खर्च ५ करोड ४८ लाख ७१ हजार ९०६ रुपैयाँ गरेको छ । चालुतर्फ इन्धनमा २३ लाख ५५ हजार २५८ र सवारी साधन मर्मत खर्चमा ८ लाख २१ हजार ३३ रुपैयाँ खर्च गरेको छ । सञ्चार महसुलमा मात्रै १० लाख ७५ हजार ३६५ रुपैयाँ पुगेको छ ।
सार्वजनिक सुनुवाइका क्रममा सहभागिले स्थानीय सरकारले आन्तरिक आयस्रोतलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनीहरुले विकास निर्माणतर्फ पुँजीगत खर्च कम देखिनुले विकास आयोजनाको काममा ढिलासुस्ती हुने परम्परा अन्त्य गर्न सम्बन्धित निर्माण कम्पनी, ठेकेदार र उपभोक्ता समितिको नियमित निगरानी तथा अनुगमनमा जनप्रतिनिधिको ध्यान जानुपर्ने औंल्याएका थिए । सहभागिले आयोजनाको निर्माण कार्य समयमै सम्पन्न भई भुक्तानी गर्न र बजेट रकम फ्रीज हुन नदिन सुझाव दिएका थिए ।
उनीहरुले स्थानीय तहमा आर्थिक तथा प्रशासनिक सुशासनमा सुधार, पारदर्शिता र सार्वजनिक महत्व तथा साझा सरोकारका विषयमा सबैको राय, सुझावलाई समेटेर अघि बढ्नपर्नेमा जोड दिएका छन् । विकास निर्माणका कतिपय कार्यहरु जनअपेक्षा अनुसार भएपनि दीगो विकास, भ्रष्टाचार न्युनिकरण, सुशासन, दीगो विकासमा केन्द्रित भई आयोजनाको पुँजीगत खर्च समयमै गर्न माग राखेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सम्वृद्ध गाउँपालिका बनाउन योजनावद्ध ढंगले काम गर्ने बताए । उनले आफूले भाषण भन्दा काम गरेर देखाउन चाहेको बताउँदै स्थानीय तहमा सबैको सुझावलाई ग्रहण गरी विकास निर्माणमा केन्द्रित हुने प्रतिवद्धता जनाए । उनले बजेट विनियोजन र योजना निर्माणमा कार्यपालिकामा सबैको राय र सहमति अनुसार गरिएको दाबी गरे ।
सार्वजनिक सुनुवाइका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले स्थानीय सरकारले चुनावको बेला जनताका बीचमा गरेका प्रतिवद्धता पूरा गर्न लागिरहेको बताए । उनले जनताको जनमत खेर जान नदिने गरी साझा एजेण्डामा साझा सहमति गरि अघि बढ्ने बताए ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले चालू खर्च नियमित प्रकृतिको क्रमागत रुपले दैनिक खर्च भइरहने भएकाले बढि देखिएको र पुँजीगत खर्च निर्माण कार्यसँग सम्बन्धित भएकाले कम खर्च देखिएको प्रष्टीकरण दिए । सार्वजनिक सुनुवाइको सहजीकरण बौनियास्थित कोसेली मिडिया प्रालिले गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया