बागमतीमा किन असन्तुष्ट बन्यो कांग्रेस ?

लोकपथ
21
Shares

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका सांसदहरुको अनुपस्थितीको कारण मुख्यमन्त्री शालिकराम जमरकटेलले विश्वासको मत पाएनन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बोलाइएको थियो ।

तर, नेपाली कांग्रेसले आन्तरिक छलफल गर्नुपर्ने कारण देखाउँदै अघोषित रुपमा बैठक बहिस्कार गरेसँगै पुनः चैत १० गतेका लागि बैठक बोलाइएको हो । यद्यपि कांग्रेसले बैठक बहिस्कार गर्नुको कारण भने अर्कै देखिन्छ । त्यो हो, सरकारको भाबी रणनीतिका बारेमा कांग्रेससँग मूख्यमन्त्रीले छलफल नगर्नु ।

यता बागमती प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्ले भने आगामी रणनीतिबारे छलफल गर्नुपर्ने भएका कारण बैठकमा उपस्थित हुन नसकेको बताउँछन् ।

‘आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा हाम्रो संसदीय दलको छलफल गर्नुपर्ने भएकाले हामी बैठकमा उपस्थित हुन सकेनौँ,’ लोकपथसँगको कुराकानीका क्रममा काफ्लेले भने ।

काफ्लेले अहिले मुख्यमन्त्रीले गठबन्धनमा आवद्ध दलसँग छलफल नै नगरी विश्वासको मत लिन लागेकाले पनि आफूहरु त्यसबारे निर्णय दिन नसकेको बताए । अहिले नयाँ गठबन्धन भएको कारण मुख्यमन्त्रीले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने छलफल नगरेको काफ्लेको भनाइ छ ।

‘त्यो कुरा पनि हो केही मात्रामा हो (मुख्यमन्त्रीको एकल निर्णय गरेको) । अहिले नयाँ गठबन्धन हो नि त,’ कुन्दन भन्दै थिए, ‘पहिले निर्वाचनपछि तोडिएको गठबन्धन पुनः ब्यूतिएको छ । नयाँ सिराबाट छलफल भएकाले गर्दा पार्टीभित्र छलफल गर्नुपर्ने भएको कारणले हामी छलफलमा बसेका हाँै ।’

आज बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । माओवादी केन्द्रसँग पनि आन्तरिक छलफल भएको र गठबन्धनमा कुनै समस्या नहुने उनले बताए ।

‘आज हामीले छलफल गरिसक्यौँ । अब समस्या छैन,’ काफ्लेले भने ।

गत पुस १० गते माओवादी र एमालेसहितको गठबन्धन बनेसँगै कांग्रेस सत्ताबाट बाहिरिएको थियो । तर, केन्द्रमा सो गठबन्धन भत्किएर नयाँ राजनीतिक समीकरण बनेसँगै मुख्यमन्त्री जमरकटेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?