काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् ।
पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ । नेता पुनले संसदका झण्डै दुई तिहाई सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए ।
दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी श्रृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए । ‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन’, पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन् ।’
देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेण्डा लिएर जनतामा गएका दलहरु एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुसी व्यक्त गरे । उनले प्रमुख दुई नेता गठबन्धनका दलहरु मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे । ‘हामी सँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ’, पुनले देउवालाई भने, ‘यसलाई सफला पार्न दुई नेता र पार्टीले देश र जनातको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो कसिलो बनाएर अगिाडि जानुप¥यो ।’ जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आफूहरुले आश्वस्त तुल्याउने बताए ।
प्रचण्ड र देउवा दुवैले पुनको स्वास्थ्यलाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका छन् ।
पुन जटिल प्रकारको बंशाणुगत जण्डिशबाट पीडित पुन ब्यथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित पुन अस्वस्थताका कारण मतदातासमक्ष मत माग्न समेत जान सकेका थिएनन् ।
उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक श्रोतका अनुसार पुनको स्वास्थ्यमा चमत्कारिक सुधार भएको छ । उनको शरीरमा जण्डिशको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरु बताउँछन् । तर, पुनको शरीरमा कम्तिमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ ।
स्वास्थ्यमा चमत्कारिक सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि मात्र नेपाल फर्कन भनेको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।
पुनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया