ग्राहकको पैसा सापटी लिएर बैंकका प्रबन्धक सम्पर्कविहीन

लोकपथ
26
Shares

खोटाङ । प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्कविहीन भएपछि उनलाई पैसा सापटी दिने व्यक्तिहरू फसेको भन्दै अत्तालिन थालेका छन् । गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

प्रबन्धक खतिवडाले सापटी भनेर रु १० लाख लिएकामा रु पाँच लाख फिर्ता गरेर बाँकी रु पाँच लाख फिर्ता नगरी सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काँशिराज बस्नेतले बताए ।

प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट रु १६ लाखसम्म सापटी पैसा लिएको खुलासा भएको छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर बैंकमै बोलाएर तथा नजिक घर भएका व्यक्तिलाई घरमै गएर पैसा सापटी माग्ने गरेको पीडितहरुले बताएका छन् ।

उनले चिनजानका व्यक्तिबाट रु एक करोडभन्दा बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको पीडितहरुले बताएका छन् ।
उनले बैंकको रकम भने छोएका छैनन् । शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन भएको केही समयपछि प्रभु बैंकले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ ।

यद्यपि, खतिवडा सम्पर्कविहीन भएको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन । प्रबन्धक खतिवडाबाट पीडित भएका स्थानीय बासिन्दाहरु सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्न लागि परेका छन् । पैसा सापटी लिएको विषयमा पीडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?