बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त नै व्यावसायिक अभिकर्ता

लोकपथ
0
Shares

काठमाडौँ । बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् ।

राष्ट्रिय बीमा संस्थानले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ताविना सम्भव नै नहुने भन्दै अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बीमालेख वितरणको भरपर्दो टेस्टेड माध्यम भएको बताएका हुन् ।

सो माध्यमलाई नियामक निकाय वा बीमा प्राधिकरणले सुव्यवस्थित बनाइदिँदा अझ बढी बजार विस्तारमा सहजता छाउने उहाँहरूको भनाइ थियो । प्राइम लाइफका पूर्वप्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले बीमा कम्पनीका तर्फबाट अभिकर्ता नै ग्राहकसँग साक्षात्कार गर्ने पहिलो अन्डरराइटर भएको बताए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढङ्गले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिकाको चर्चा गर्दै अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय प्रवर्द्धन गर्दै लैजाने नीति लिएको जानकारी दिए ।
संस्थानका वरिष्ठ अभिकर्ता हरिशरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ता उत्पादन गर्नु आजको आवश्यकता भएको भन्दै त्यसमा नेपाल सरकार, बीमा प्राधिकरण, बीमा कम्पनी, बीमित तथा अभिकर्ता सबैले ध्यान दिनुपर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?