कैलालीका ५ क्याम्पसको स्ववियु नतिजा सार्वजनिक, ४ मा मतगणना जारी

लोकपथ
161
Shares

कैलाली । कैलालीमा ५ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । आइतबार भएको ९ वटा क्याम्पसको स्ववियु निर्वाचनमध्ये ५ वटा क्याम्पसको अन्तिम नतिजा आएको हो ।

त्रिभुवन विश्वविद्यालय मातहतका आंगिक क्याम्पस तथा कलेजमध्ये जिल्लास्थित सबै क्याम्पसहरुमा शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन भएको जनाइएको छ । थोरै विद्यार्थी भएका क्याम्पसहरुमा चुनावी मतपरिणाम सार्वजनिक छ । स्ववियु निर्वाचनमा ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीमा १ हजार ३९३ मत खसेको थियो ।

रघुनाथ बहुमुखी क्याम्पसमा १९१ मत, महुन्याल बहुमुखी क्याम्पसमा ६३ मत, बुलबुले बहुमुखी क्याम्पसमा १५१ मत, घोडाघोडी बहुमुखी क्याम्पसमा १ हजार ३९६ मत, राष्ट्रिय कलेजमा ३७८ मत खसेको थियो । यस्तै, लम्की बहुमुखी क्याम्पसमा ५७५ मत, चौमाला बहुमुखी क्याम्पसमा ३३५ मत र खप्तड बहुमुखी क्याम्पमा १९१ मत खसेको थियो ।

पछिल्लो सार्वजनिक मतपरिणामअनुसार लम्की बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी कल्पना तिमिल्सैना निर्वाचित भएकी छन् । सचिवमा अखिल क्रान्तिकारीकी पूजा विष्ट, कोषाध्यक्षमा अनेरास्ववियु समाजवादीकी नियुना खनाल विजयी भएकी छन् । सदस्यमा मनिषा भुल, प्रदिपप्रसाद न्यौपाने, प्रकाश धमाला, टीका बिसी र सुनिल नेपाली निर्वाचित भएको निर्वाचन संयोजक गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

यस्तै, मसुरियास्थित खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पुष्कर अवस्थी निर्वाचित भएका छन् । अवस्थीले ११७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका धिरज भाटले ६८ मत ल्याए । यस्तै, सचिवमा नेविसंघकै प्रेम जोशीले ९९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका राजेश विश्वकर्माले ९० मत ल्याएर निर्वाचित भए ।

कोषाध्यक्षमा पनि नेविसंघकै सञ्जु चौधरीले १०५ सहित विजयी भए भने उनका प्रतिस्पर्धी अर्चना वखरिया थारुले ७२ मत ल्याइन् । सदस्यमा नेविसंघका ४ जना मन्जु सार्की, रन्जित चौधरी, मन्जु महत, विक्रम बोहरा र एक जना अनेरास्ववियुकी प्रितिकुमारी बुढामगर विजयी भएकी छन् ।

पहलमानपुरस्थित बुलबुले बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी पुष्पा खाती निर्वाचित भएकी छन् । भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका अर्जुन खत्री र रघुनाथ बहुमुखी क्याम्पस जोशीपुरमा अनेरास्ववियु क्रान्तिकारीकै विनिता चौधरी निर्वाचित भएकी छन् ।

निर्वाचन सम्पन्न भएका राष्ट्रिय कलेज सुखड र चौमाला बहुमुखी क्याम्पसमा मतगणना जारी छ भने ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी र घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा मतगणनाको तयारी थालिएको छ । आइतबार निर्वाचन हुन नसकेको टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसको स्ववियु निर्वाचन सोमबार हुने भएको छ । निर्वाचन समितिले आज सूचना जारी गर्दै चैत ६ गते मतदान हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?