काठमाडौँ । त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन सक्न मातहतका क्याम्पसहरुलाई थप एक साताको समय दिएको छ । आइतबार निर्वाचन हुन नसकेका क्याम्पसहरुलाई त्रिविले चैत १२ अघि निर्वाचन गरिसक्ने गरी समय दिएको हो ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले आइतबार विज्ञप्तिमार्फत आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी काम गरेर निर्वाचन गरिसक्न आग्रह गरेका हुन् ।
‘स्थगन भएका क्याम्पस तथा कलेजहरूमा आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रविन्दुमा राखी स्थगन भएका निर्वाचन प्रकृयालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्ग लगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
लामो अन्तरालपछि आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालयको आइगिक तथा सम्बन्धन प्राप्त अधिकांश क्याम्पस– कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
केही क्याम्पस तथा कलेजहरूमा विद्यार्थी संघ संगठनहरूबीचको सामान्य विवादका कारण मतदान स्थगन गर्नु परेता पनि अधिकांश स्थानमा शान्तिपूर्वक निर्वाचन भएको त्रिविको भनाइ छ ।