काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिएर सरकारमा सामेल हुने भएको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले लोकपथलाई जानकारी दिए ।
‘सरकारलाई विश्वासको मत दिन्छौँ र हामी सरकारमा सामेल हुन्छौँ ।’ खतिवडाले भने ।
त्यस्तै आजको बैठकले घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ ।
त्यस्तै यसअघि महासचिव रहेका वेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको उनले बताए ।
‘नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । महासचिवमा घनश्याम भुसाललाई जिम्मेवारी दिइएको छ, भने उपाध्यक्षको जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ ।’ उनले भने ।
उनका अनुसार पार्टीले १९ सदस्यीय सचिवालय बनाउने र ४ उपाध्यक्षलाई सचिवालयमा तान्ने निर्णय समेत भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि विश्वासको मत लिँदैछन् ।