अस्कलमा स्ववियु निर्वाचन अन्योलमा : क्रान्तिकारीको ताला, निर्वाचन अधिकृतले दिए राजीनामा

लोकपथ
672
Shares

काठमाडौं । अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनमा अन्योलता देखिएको छ ।

चैत ५ गतेका लागि निर्वाचन तोकिएर सबै प्रक्रिया अघि बढे पनि निर्वाचन अधिकृतले राजीनामा दिएसँगै निर्वाचनबारे अन्योलता देखिएको हो ।

निर्वाचन अधिकृत उमाकान्त लाल कर्णले क्याम्पस प्रमुख लोकबहादुर बराललाई राजीनामा बुझाएको नेपाल विद्यार्थी संघ अस्कलका अध्यक्ष प्रकाश अर्यालले लोकपथलाई जानकारी दिए ।

कर्णले बिरामी भएको भन्दै राजीनामा दिएपछि क्याम्पस प्रमुख बरार र निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्यहरु छलफलमा जुटेको अर्यालले बताए ।

बिरामी भएको भन्दै निर्वाचन अधिकृत उमाकान्त लाल कर्ण राजिनामा दिनुभएको छ ।’ अर्यालले भने, ‘अहिले क्याम्पस प्रमुख लोक बहादुर बराल र निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलमा रहेका छन् ।’

त्यस्तै माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले विभिन्न असन्तुष्टी जनाउँदै क्याम्पस प्रशासनमा तालाबन्दी समेत गरेको छ ।

एमाले निकट अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी, स्ववियु सदस्य पंकज पाण्डे, गोपालजंग शाही र दिनेश सिंग्देललाई फौजदारी अभियोग लागेकाले उम्मेदवारी खोरेजी गर्न अखिल क्रान्तिकारीले मागसहित तालाबन्दी गरेको थियो । साथै अन्य संगठनले फर्जी भर्ना गरेको भन्दै त्यसको खारेजीको माग गर्दै फागुन २८ गते नै तालाबन्दी गरेको थियो ।

यता एमाले निकट अनेरास्ववियुले त्यसप्रति कटाक्ष गर्दै तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने मागसहित विज्ञप्ति जारी गरेको छ ।

अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरी पोखरेलले विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारी र प्रकाशन मिलेर निर्वाचन बिथोल्न लागेको आरोप लगाएका छन् ।

चुनाव आउन दुई दिन मात्र बाँकी रहँदा तालाबन्दी र निर्वाचन अधिकृतको राजीनामाले निर्वाचनमा असर पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?