धान उत्पादनमा वृद्धि

भक्तपुर, ६ कात्तिक ।नेपाल र चीनबीचको सम्झौतासँगै शुरु भएको परियोजनामार्फत परीक्षणका रुपमा लगाइएको चिनियाँ हाइब्रिड धानको उत्पादन चारगुणाले वृद्धि भएको पाइएको छ ।सम्झौतासँगै सन् २०१६ देखि तीन वर्षे चाइना नेपाल प्राविधिक सहयोग परियोजनामार्फत परीक्षणका रुपमा भक्तपुरमा लगाइएको चिनियाँ हाइब्रिड धान उत्पादनमा वृद्धि भएको पाइएको हो ।मध्यपुरथिमिमा करिब १२ रोपनी जग्गामा यस वर्ष परीक्षणका रुपमा लगाइएको एलपिएम बिआर १६२८ र एलपिएम बिआर १६३२ जातको धानको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), चिनियाँ टोली, चाइना नेपाल प्राविधिक सहयोग परियोजना, कृषि वनस्पति महाशाखा, धान लगाउने कृषकको टोलीसहितले आज अवलोकन गरेको हो ।कार्यक्रममा चिनियाँ टोलीका संयोजक जिहाङ जोहुईले चीनको आर्थिक एवं प्राविधिक सहयोगमा शुरु भएको सो परियोजनाले चीन र नेपालमा विभिन्न तालीम उपलब्ध गराएको बताए । उनले चीनको ६७ जातका धानको परीक्षण नेपालमा शुरु गरिएको र चिनियाँ हाइब्रिड धान प्रतिहेक्टर ८ टनदेखि १० टनसम्म उत्पादन हुने बताए ।धान तथा मकैका लागि चीनले नेपालमा प्राविधिक सहयोग, ट्र्याक्टर, राइस मिल, ट्रान्सप्लान्ट यन्त्रलगायतका सहयोग गरेको छ भने धानको प्रयोगशाला बनाइदिने भएको छ ।स्थानीय किसानले धानमा कालोपोके आएको र केही बोट मर्ने समस्या आएको बताउँदै यसलाई नियन्त्रण गर्न सके उत्पादनमा वृद्धि हुने बताए । धान पसाउने बेलामा केही बोट मर्ने र केही बाला नलाग्ने समस्या छ ।कृषि वनस्पति महाशाखाका प्रमुख सुरेशकुमार राईले परियोजनाअन्तर्गत चीनबाट ल्याइएका हाइब्रिड धान र मकैको परीक्षण गरिरहेको बताए । परीक्षणमा कृषकबाट आएको सुझाव र उत्पादन बढ्ने निश्चित भएमा धान, मकैलगायत उन्नत जातका बीउ जिल्ला जिल्लामा पठाइने उहाँको भनाइ थियो ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का योजना तथा समन्वय निर्देशक डा आन्दकुमार गौतमले किसानले सधैँ एकै प्रकारको धान लगाउने गरेको र नेपालले आफ्नै उन्नत नयाँ जातको धानको बीउ उत्पादन गर्न नसकेकाले चिनियाँ हाइब्रिड धानको बीउ परीक्षणमा ल्याइएको बताए । नेपालमै हाइब्रिज धानको बीउ उत्पादन गर्ने तयारीमा रहेको र चिनियाँ हाइब्रिड धान परीक्षणका क्रममा उपयुक्त देखिएमा यसलाई प्रमाणीकरण गरेर बीउ वितरण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?