उपत्यकाका क्याम्पसमा सत्तारुढ विद्यार्थी संगठनले गरे तालमेल, कुन क्याम्पस कसको भागमा ?

लोकपथ
195
Shares

काठमाडौं । आसन्न स्ववियु निर्वाचनका लागि सत्तारुढ विद्यार्थी संगठनले काठमाडौं उपत्यकाका अधिकांश क्याम्पसमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका हुन् ।

तीनैवटा संगठनका प्रमुखका बीचमा हिजो शुक्रबार भएको सहमति अनुसार सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाडौं उपत्यका र उपत्यका बाहिर समेतका क्याम्पसहरुमा तालमेल गरेर अघि बढ्ने निर्णय भएको हो ।

जसअनुसार तीनवटै विद्यार्थी संगठनले काठमाडौं उपत्यकाका क्याम्पसहरुमा भागबण्डासमेत गरेका छन् । भागबण्डाअनुसार नेविसंघले १५ क्याम्पस, अखिल (क्रान्तिकारी)ले १० क्याम्पस र एकीकृत समाजवादी निकट अनेरास्ववियुले ३ वटा क्याम्पसमा स्ववियु सभापति लिने सहमति भएको नेबिसंघका एक नेताले लोकपथलाई जानकारी दिए ।

जसमा नेविसंघले शंकरदेव क्याम्पस, पाटन संयुक्त, त्रिचन्द्र, पद्मकन्या, आइओएम महाराजगञ्ज, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, जनप्रशासन, सरस्वती, कोटेश्वर बहुमुखी, ग्रामीण आदर्श, भक्तपुर बहुमुखी, काठमाडौं इन्जिनियरिङ क्याम्पस र कान्तिपुर क्याम्पसको सभापतिमा उम्मेदवारी दिनेछ ।

त्यस्तै, अखिल क्रान्तिकारीले भागमा सानोठिमी क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिक युथ, विश्वभाषा, एनआर कलेज, नेशनल इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ क्याम्पस, हिमालयन इन्जिनियरिङ क्याम्पसको सभापति परेको छ ।

यता अनेरास्ववियुको भागमा महेन्द्ररत्न क्याम्पस, आर आर क्याम्पस र बानेश्वर क्याम्पस परेको ती नेताले जानकारी दिए ।

आज (शनिबार) भएको मनोनयन दर्तामा अधिकांश क्याम्पसमा उम्मेदवारीसमेत दर्ता भएको छ । भने, कतिपय क्याम्पसको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन सकेको छैन । साथै, केही क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?