काठमाडौं । प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरेको दाबी गर्दै तत्काल छानबिन गर्न प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।
शुक्रवार प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर यस्तो माग गरेका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरिरहेकाले छानबिन गर्न आनुरोध गरेका हुन् ।
सांसदहरुको ज्ञापत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक आचारसंहिता परिमार्जनको क्रम शुरु भएको उल्लेख गर्दै तयार हुने वित्तिकै त्यसलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहका अनुसार सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको बताए ।
ज्ञापन पत्र बुझाउनेमा प्रदेश २ का प्रतिनिधिसभाका सांसदहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिल कुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समिना हुसेन, सुमनराज प्याकुरेल रहेका थिए भने प्रदेश सभा सांसदहरुमा प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साह रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया