पौडेललाई बधाई दिँदै गगनको सुझाव– ‘बाटो खाली गराएर नागरिकलाई दुख दिने काम नहोस्’

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई विभिन्न सुझावसहित बधाई दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका थापाले यसअघिका राष्ट्रपतिबाट भएका संवैधानिक त्रुटिलगायका विषयमा समेत स्मरण गराएका छन् ।

विशिष्ट व्यक्तिको सवारीमा नागरिकलाई घण्टौसम्म हिँडडुल गर्न नदिने परम्पराले नागरिकमा संस्थाप्रति नै नकारात्मक धारण पैदा भएको भन्दै त्यसको अन्त्य गर्न सुझाएका छन् ।

‘विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने जुन परम्परा र अभ्यास छ यो तामझामपूर्ण शैलीले संस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको छ। तपाईंले यस्तो गर्दिन भन्नुभएको छ, सकारात्मक छ। त्यसैले राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडक–भडक गर्ने होइन, सरल र सादगी जीवन शैली, अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रुपमा आफुलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ। ताकि आम नागरिकले राष्ट्रपति हिडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिक जस्तै सामान्य भएको महशुस गर्न सकुन्,देख्न सकुन् ।’ थापाले भनेका छन् ।

त्यसैगरी हिजोसम्म नेपाली कांग्रेसको सदस्य भए पनि अब सबैको अभभिावक भएर देश र जनताको नाममा काम गर्न सुझाव रहेको छ ।

‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसंग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मेहनत थियो ।’ उनले भनेका छन्, ‘तर, अव तपाईं मन, वचन र कर्मले योसंग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसंग पनि अतिरिक्त अनुराग रहनुहुँदैन । अब तपाईं हाम्रो दलको मात्र होइन सवैको अभिभावक हो। संगैमा दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ, कुनै पनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?