काठमाडौं । आज बसेको संसद बैठकमा नेपाली कांग्रेसले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।
शुक्रवारको संसद बैठकमा कांग्रेस सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको हो ।
उनले भने, ‘एक जना सेवा निवृत्त हुन लागेका सचिव र केही वरिष्ठ कर्मचारीको स्वार्थमा अध्यादेश आएको छ, यसलाई फिर्ता लिनुपर्छ ।’
साथै तत्काल अध्यादेश फिर्ता लिन र संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन ल्याउन समेत सरकारसँग आग्रह गरेको हो ।
त्यस्तै उनले कर्मचारी समस्या समाधान गर्न कांग्रेसले सरकारलाई सक्दो सहयोग गर्ने समेत बताए ।
‘अध्यादेश फिर्ता लिएर जानोस् तत्काल तीनै तहको ऐन ल्याउनोस्, संसदमा रातारात काम गरौं कर्मचारीको समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्छौं’ थापाले भने ।
साथै उनले सरकार उल्टो बाटोमा हिँडेको आरोप समेत लगाए ।
‘सरकारलाई सुल्टो बाटो हिँडाउने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएपनि उहाँ काम भन्दा पनि धेरै बोल्नु हुन्छ ।’ सांसद थापाले भने ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन नगर्ने भएपछि सरकारले संघीय निजामती सेवा ऐन, प्रदेश र स्थानीय निजामती सेवा ऐन ल्याएको भए अहिलेको समस्या नआउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया