काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।
प्रवक्ता श्रेष्ठका अनुसार, परिमार्जित प्रतिवेदन सचिवालयमा पेश हुनेछ ।
मंसीर २९ गतेबाट शुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका थिए । साथै, सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगो लगाउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना समेत गरिएको थियो ।
सोही आलोचनाको विषयलाई समेत समेट्ने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको प्रवक्ता श्रेष्ठको भनाई छ ।
बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वमा रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुबीर महासेठ, बेदुराम भुषाल, वर्षमान पुन र लेखराज भट्ट सहितको कार्यदल पनि बनाएको छ ।
कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया