स्ववियु निर्वाचन नजिकिँदै गर्दा नेविसंघमा विवाद, सिटौला समूहले बोलायो छुट्टै भेला

लोकपथ
364
Shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद झनै चुलिएको छ ।

केन्द्रीय अध्यक्षले मनोमानी ढंगले संगठन चलाएको भन्दै नेविसंघको कृष्ण सिटौला लगायत संस्थापन इतर समूहले त्यसको प्रतिवाद गरिरहेका छन् ।

विभिन्न जिल्ला र क्याम्पसहरुमा आफू निकटहरुलाई अध्यक्ष बनाएको र संगठन चलायमान बन्न नसकेको भन्दै सिटौला समूहले छुट्टै भेला बोलाएको छ ।

शुक्रबार प्रदर्शनीमार्गको बाल्मिकी क्याम्पसमा छुट्टै भेला बोलाएर संगठन विरुद्ध गतिविधिको विरोध गर्ने भएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको अगुवाइमा भेला बोलाइएको नेविसंघका एक नेताले लोकपथलाई जानकारी दिए ।

स्ववियु निर्वाचनको टिकट वितरणका सन्दर्भमा संगठनले मनोमानी ढंग देखाएमा आफूले स्वतन्त्र उम्मेदवारी दिने तयारीस्वरुप भेला बोलाइएको उनले बताए ।

‘भोलिको लागि भेला बोलाइएको छ । अध्यक्षले मनोमानी ढंगले संगठन चलाइरहेको विषयमा हामीले पटकपटक विरोध गरेका छौँ । विभिन्न जिल्ला र क्याम्पसमा जस्तै स्ववियु निर्वाचनको टिकट वितरणमा समेत सोही चरित्र देखिएमा हामी स्वतन्त्र उम्मेदवारी समेत दिनेछौँ ।’ ती नेताले भने ।

आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । अन्य संगठनहरु निर्वाचनको तयारीमा जुटे पनि नेविसंघ भने झनै विवादमा फस्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?