जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोशाकमा भेटिन्छन्

लोकपथ
117
Shares

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन् ।

यस दिन उक्त विद्यालय पुग्दा यहाँ कुनै सांस्कृतिक कार्यक्रम होला भन्ने अनुभूति हुन्छ । नामजस्तै सुन्दर बस्तीको बीचमा अवस्थित यस विद्यालयमा विद्यालय समय भएपछि विद्यार्थी र शिक्षकहरू वरिपरिका गाउँ बस्तीबाट विद्यालयतर्फ अघि बढ्छन् । धेरै जातजातिको बसोबास रहेका कारण विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आएको दृश्य निकै आकर्षक देखिन्छ ।

गुरुङ, तामाङ, लिम्बू, राई, ब्राह्मण, क्षेत्री र दलित समुदायका विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयमा केही सीमितबाहेक यहाँ अधिकांश विद्यार्थी र शिक्षकहरू साताका यी दुई दिन मौलिक पोशाकमा सजिएर विद्यालय पुग्ने गर्दछन् । थरीथरीका पोशाकले कक्षाकोठामा बसेका विद्यार्थीहरूको विविधता पनि निकै आकर्षक देख्न सकिन्छ ।

विद्यालयको व्यवस्थाअनुसार प्रत्येक हप्ताको सोमबार र बिहीबार शिक्षक र विद्यार्थीहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउने क्रम नियमित र व्यवस्थित पनि भइसकेको छ । केही समय अघिदेखि शुरु भएको यो कार्यमा अहिले विद्यार्थी र शिक्षक अभ्यस्त भइसकेका देखिन्छन् ।

कक्षा–८ की छात्रा निरुता राई विद्यालयले जातीय पोशाक लगाउने व्यवस्था गरेपछि मात्रै आफ्नो मौलिक पोशाकबारे बुझ्ने, लगाउने तरिका सिक्ने अवसर मिलेको बताउँछिन् । विद्यार्थीहरू शुरुशुरुमा जातीय पोशाक लगाउन असहज भए पनि अहिले यसैमा बानी परेको उनी बताउँछिन् । विद्यालय पोशाकभन्दा जातीय पोशाक लगाउन समय लाग्ने र खर्चिलो भए पनि यसैमा विद्यार्थी खुशी देखिन्छन् ।

पोशाकबारे व्यावहारिक जानकारी प्राप्त भएको विद्यार्थीहरूको अनुभूति छ । रानीटार माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईका अनुसार सेवा क्षेत्रमा रहेको विविधतालाई उजागर गर्दै आफ्नो मौलिक पहिचान र संस्कृतिबारे जानकार बनाउन यो अभियान शुरु गरिएको हो ।

अन्य विद्यालयहरूमा राष्ट्रिय पोशाक लगाउने व्यवस्थाबारे आफूहरूले सुने पनि विविधता रहेका स्थानमा जातीय पोशाक लगाउने व्यवस्था गरेर नयाँ सन्देश दिन खोजिएको प्रधानाध्यापक राईको भनाइ छ । ‘सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोशाकको पढाइ गर्नुपर्ने हुन्छ ।

त्यसैको सिलसिलामा यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो व्यवस्था गरेका हौँ’, प्रअ राईले भने, ‘कक्षा १ देखि १२ सम्म नै तस्बीर देखाएर यो फलानो जातिको पोशाक भनेर देखाउनु, चिनाउनु, पढाउनुभन्दा यो गरेपछि हरेक कक्षाकोठा नै शैक्षिक सामग्री र मोडल बन्छ । त्यहीँ सिकाइ हुन्छ ।’ अभियानले पोशाक लगाउने सीपको विकास हुनुका साथै औपचारिक शिक्षाको व्यावहारिक ज्ञान हुने विद्यालयको ठम्याइ छ ।

आफ्नो पोशाकबारे जानकारी पाउँदा नयाँ पुस्ताबाट संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको प्रअ राईले बताए । विद्यालयले अभियान सञ्चालनका लागि सबै अभिभावक, विद्यालय व्यवस्थापन समिति र वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेको थियो । जातीय पोशाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले एक वर्षअघि नै आह्वान गरेर यस वर्षदेखि नियमित गरेको हो ।

यद्यपि कमजोर आर्थिक अवस्थाका कतिपय विद्यार्थीले जातीय पोशाक खरिद गर्न सकेका छैनन् । ‘हरेक वर्ष चाडपर्वमा लुगा कपडा किन्दा आफ्नो जातीय पोशाक पनि खरिद गर्न सबै अभिभावकहरूलाई विद्यालयले आग्रह गर्दै आएको छ’, प्रअ राईले भने, ‘थोरै पैसा बचत गर्दा रानीटार जातीय पहिचान झल्काउने र पोशाकबारे व्यावहारिक ज्ञान दिन सम्भव हुने देखियो ।’

जातीय पोशाक खरिद गर्दा नसकेका १० जना विद्यार्थीलाई विद्यालयले खरिद गरिदिन लागेको छ भने अन्यलाई पोशाक खरिद गरिदिन वडा कार्यालयसँग माग गरेको छ । यस्तै नेपाल आदिवासी जनजाति महासंघको वडा समिति र जातीय संघ संगठनहरूलाई पनि पोशाक खरिदमा सहयोग गरिदिन आग्रह गरिएको प्रअ राईले बताए ।

पोशाक लगाउने अभियानले थप सकारात्मक उपलब्धि पनि दिएको छ । यहाँका सबै समुदायका विद्यार्थी अहिले आफ्नो जातीय नृत्य प्रस्तुत गर्न र गीत गाउन सक्ने भएका छन् । हालै यस विद्यालयमा आयोजित सम्मान कार्यक्रममा सबै जातिका विद्यार्थीले आ–आफ्नो जातीय नृत्य प्रस्तुत गरेका थिए ।

‘गुरुङले रोदी, तामाङले सेलो, राईले साकेला, लिम्बूले च्याब्रुङ, ब्राह्मण क्षेत्रीले सँगीनी नाच्न सक्ने, आवश्यक परेको खण्डमा यहाँका विद्यार्थीले बाहिर गएर प्रशिक्षणसमेत दिन सक्दछन्’, सहायक प्रधानाध्यापक वीरेन्द्र अधिकारीले भने । विद्यालयले सञ्चालन गरेको अभियानलाई वडा कार्यालयले समेत सहयोग गर्ने भएको छ । वडाध्यक्ष रुपेन्द्र तामाङ जातीय पोशाक लगाउने अभियान ऐतिहासिक भएको बताउँछन् ।

‘शुरुआतमा कठिन परे पनि अभियान व्यवहारमा अवलम्बन भइसकेको छ । अभियानसँग विद्यार्थी र अभिभावकहरू सकारात्मक हुनुभएको छ’, वडाध्यक्ष तामाङले भने, ‘अभियानले बाल मस्तिष्कमा भाषा, लिपि, संस्कृतिको जगेर्नाका लागि एकदमै सकारात्मक छाप परेको छ ।’ आगामी दिनमा भाषिक शिक्षाको समेत व्यवस्था गर्न र जातीय पोशाक लगाउने अभियानलाई निरन्तरता दिई पूर्णता बनाउन वडाले सहयोग गर्ने उनले बताए ।

यसअघि पाँचथरको फालेलुङ गाउँपालिका–६ मा अवस्थित दीपज्योति आधारभूत विद्यालयले राष्ट्रिय पोशाक लगाउने अभियान चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?