सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै, पक्षमा बहुमत

लोकपथ
117
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट आज विश्वासको मत लिँदैछन् । कांग्रेस संसदीय दलका नेतासममेत रहेका शाहले विश्वासको मत माग्दै प्रदेश सभामा प्रस्ताव पेश गरेका छन् ।

प्रदेशसभामा अहिले बैठक बसिरहेको छ । गत माघ २७ गते मुख्यमन्त्रीको शपथ लिएका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने भएका छन् । नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले विश्वासको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरुलाई आव्हान गरे ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफ्नो पार्टीले अघि सारेका माग र मुद्दाको सम्बोधन हुने गरी सरकारलाई समर्थन गर्ने बताए । उनले टीकापुर घटनामा दोषी रेशम चौधरीको रिहाइकाे मुद्दा प्राथमिकतामा राख्नु पर्ने मागको अपेक्षा राख्दै मतदान गर्ने बताए ।

त्यस्तै, प्रदेश सरकारमा सहभागि दल नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि विश्वासको पक्षमा मतदान गर्ने जनाएको छ । समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले छलफलमा भाग लिदैँ विश्वासको पक्षमा मतदान गर्ने बताए । प्रदेशसभामा स्वतन्त्र सांसद तारा जोशीलेसमेत विश्वासको मत दिने बताएका छन् ।

प्रदेश सभामा नेकपा (एमाले) ले भने विश्वासको विपक्षमा मतदान गर्ने भएको छ । एमालेका प्रदेशसभा सदस्य चक्र मल्लले प्रदेश सभामा छलफलमा सहभागि हुँदै प्रदेशसभामा विश्वासको मतको विपक्षमा मतदान गर्ने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएको छ । यससँगै कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले प्रदेशसभामा बहुमत सदस्यको विश्वासको मत प्राप्त गर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?