खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल

लोकपथ
26
Shares

भजनी । सुदुरपश्चिमका लागि भलिबलका खेलाडी महेश खत्रीको नाम नौलो होइन । यहाँ हुने जुनसुकै भलिबल प्रतियोगितामा पनि उनको नाम चर्चामा आउँछ ।

दुईवर्ष सुदूरपश्चिम भलिबल टोलीमा कप्तानको भूमिका निर्वाह गरिसकेका महेश अहिले आफ्नो भविष्यप्रति चिन्तित छन् । खेलाडीलाई राज्यबाट गरिने संरक्षणमा कुनै सहयोग नहुँदा भविष्य अन्योलमा रहेको उनी बताउँछन् । ‘चौध वर्षको उमेरदेखि भलिबल खेल खल्न शुरु गरियो ।

नेपालमा मात्रै नभई भारतका थुप्रै सहरमा भलिबल खेल्ने अवसर पाएँ ।’ महेश भन्छन्, ‘उर्जावान् समय सकिँदै जाँदा चिन्ता बढ्दै गएको छ । चाहेर अन्य काम गर्न सक्ने स्थिति नहुनु र राज्यबाट पनि कुनै संरक्षण नहुँदा जीवन अन्योलमा छ ।’ बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–७ मा जन्मिएका उनी भौगोलिक विकटताका कारण पनि राम्रा खेलाडी अवसरबाट वञ्चित हुँदै आएको गुनासो गर्छन् ।

महेशका अनुसार सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को गठनपछि खेलाडीलाई खेल क्षेत्रको विकासमा आशा जागेको छ । ‘खेलकुद परिषद्ले खेल र खेलाडीको मर्म बुझेको छ । हिजोका खेलकुद गतिविधिलाई हेर्दा आज खेलकुदका गतिविधिमा परिषद्ले केही भूमिका निर्वाह गर्न थालेको छ,’ उनी भन्न्छन्, ‘आशा जागेको छ । सन्तुष्ट हुने वातावरण भने बनिसकेको छैन । खेलाडी उत्पादन र उत्पादन भएका खेलाडीको संरक्षण हुन जरुरी छ ।’

डडेल्धुरास्थित जोगबुडाका सुरेन्द्र बम दुई पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी भए । उनले बंगलादेशमा भएको भलिबल प्रतियोगितामा सहभागिता जनाएका थिए । तीनवर्ष एपिएफको राष्ट्रिय टोलीबाट भलिबल खेलेका उनी सुदूरपश्चिम प्रदेशको टोलीबाट भलिबल खेल्थे । भलिबलका लागि निकै चर्चित सुरेन्द्र १८ वर्षको उमेरदेखि भलिबल प्रतियोगितामा सहभागी भएको बताउँछन् ।

‘कुनै बेला लाग्थ्यो मेरो शरीरको नशामा पनि भलिबल छ । भलिबल भनेपछि खाना नै खान मनलाग्दैन थियो,’ सुरेन्द्र भन्छन्, ‘समय बित्दै जाँदा विभिन्न समस्याले घेराबन्दी गर्न थालेपछि अहिले पछुतो पनि लाग्छ ।’ खेलाडीका लागि नेपालमा उचित वातावरण बन्न नसकेकै कारण कैयौँं खेलाडी पलायन भएकाले राम्रा खेलाडीलाई राज्यले राम्रो पारिश्रमिक दिएर व्यवस्थापन गर्न आवश्यक रहेकामा उनी जोड दिन्छन् ।

‘प्रतियोगिता हुँदैनन् । प्रतियोगिता भए पनि खेलाडीको पारिश्रमिक सुनिश्चित हुँदैन । कतिपय प्रतियोगितामा आयोजकले तोकेको पुरस्कार नदिएका उदाहरण पनि छन् । ‘सुरेन्द्र भन्छन्, ‘समय बित्दै गएको छ । परिवारलाई खुसी बनाउन सकिएको छैन । खेल्न छोडाैँ भने अन्य सीप आफूसँग छैन ।’

कैलालीको जानकी गाउँपालिकाका विष्णु भाट पनि भलिबलका लागि चर्चित छन् । राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउँदै भलिबलको राष्ट्रिय रेफ्रीका रुपमा काम गर्दै आएका उनी पनि खेलाडीले खेलसँगै व्यावसायिक पेसासँग जोडिन आवश्यक रहेको बताउँछन् । स्थानीय सरकारले आयोजना गर्ने खेलकुद प्रतियोगितालाई मनोरञ्जनको रुपमा मात्र नभइ खेलाडी उत्पादन गर्ने गरी आयोजना गर्नुपर्नेमा विष्णु जोड दिन्छन् ।

‘अहिले जति पनि प्रतियोगिता आयोजना हुन्छन् । ती सबै मनोरञ्जनका लागि हुने गरेका छन् । जनशक्ति उत्पादनतर्फ अझ ध्यान पुग्न सकेको छैन । खेलकुदलाई व्यावसायिक बनाउन सकिएको छैन’ ‘उनी भन्छन्, ‘एकातिर खेल क्षेत्रमा खेलाडीको भविष्य सुनिश्चित नहुने र अर्कोतिर नयाँ खेलाडी उत्पादनमा सरकार जिम्मेवार नहुने हो भने खेल क्षेत्र नै धरापमा पर्न सक्ने चिन्ता छ ।’

‘विष्णु स्थानीय क्षेत्रमा खेलकुदका गतिविधि सञ्चालन हुन नसकेकै कारण युवाहरू लागुऔषधको दुव्र्यसनमा फस्दै गएको बताउँछन् । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंहले खेलाडीलाई व्यावसायिक खेलकुदमा जोड्ने गरी काम भइरहेको जानकारी गराउँछन् ।

प्रदेशस्तरमा खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्नाका साथै खेलकुद मैदान निर्माणलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको उनी बताउँछन् । ‘कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुरमा खेलकुद रङगशाला निर्माणको काम शुरु गरेका छौँ । अन्य खेलकुदको प्रदेश कार्यविधि बनाउने काम भइरहेको छ ।’

सदस्यसचिव सिंह भन्छन्, ‘यसले खेल क्षेत्र, खेलाडीको संरक्षण र व्यावसायीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौंँ ।’ जनशक्ति र बजेटको अभावका कारण खेलाडीको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै उनी त्यसको व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग समन्वय भइरहेको उल्लेख गर्छन् ।

‘जनशक्तिको अभाव, सीमित बजेटले धेरै काम गर्नुपर्ने बाध्यता छ । त्यसकारण पनि खेलाडीको मर्मअनुसार काम गर्न सकिएको छैन ।’ सदस्य–सचिव सिंह भन्छन्,‘त्यसका बाबजुद पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका छौँं । मुख्यमन्त्री कपको तयारी हुँदैछ । प्रदेशमा ११ विधाका खेललाई परिषद्ले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?