बाबुरामको आक्रोश : ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन मिल्छ ? यो निहुँ खोज्या होइन ?’

लोकपथ
364
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन नहुने जिकिर गरेका छन् ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै सो कुरा बताएका हुन् ।

आइतबार सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डले तीन वर्ष अघि बोलेको भनाइको विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको थियो । सोही प्रशंगमा आक्रोश व्यक्त गर्दै डा. भट्टराइले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन मिल्छ ? निहुँ खोज्या होइन ? भन्दै कटाक्ष गरे ।

‘अहिले माओवादी आन्दोलनलाई अपराधिकरण गर्ने प्रवृत्ति छ । एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या होइन ? तीन वर्ष अघिको एउटा भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर भन्ने भनेको त्यो निहुँ खोज्या होइन ? त्यो जिस्काएको होइन ?’ उनले भने ।

अहिले माओवादी आन्दोलनप्रति चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्दै विचार मिल्नेहरु एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

‘यस्ता कुरामा हामी सहकार्य त गर्न सक्छौँ नि । हामी सबै मिलेर किन आवाज निकाल्न सक्दैनौँ, किन सडकमा निस्कन सक्दैनौँ । हामी सक्छौ । विचार मिल्नेहरु सहकार्य गरौँ ।’ उनले भने ।

त्यसैगरी अझै पूर्ण एकताका लागि आफू तयार रहेको भन्दै अरुलाई पनि तयार रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?