सुदूरपश्चिम सरकार : मुख्यमन्त्री शाहले पाउलान् विश्वासको मत ?

लोकपथ
78
Shares

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् ।

शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएसँगै रावल नेतृत्वको सरकार ढलेको थियो । यता अहिले नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निर्णय गरेको छ । तर माओवादी केन्द्रले भने विश्वासको मत नदिने संकेत गरेको छ ।

माओवादीले प्रदेश सरकारको नेतृत्वका लागि आलोपालो खोजिरहेको छ । आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएमा माओवादीले विश्वासको मत दिने तयारी गरेको छ ।

त्यसो त नेकपा एमालेले विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद भए पुग्छ । नयाँ गठबन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ गरी ४१ जना सांसद छन् । यहाँ नेकपा (एमाले) का १० जना, राप्रपा र स्वतन्त्र १/१ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?