मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिने, माओवादी अलमलमै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाउने निश्चित भएको छ । मुख्यमन्त्री शाहले आइतबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी छ ।

जसका लागि शनिबार बिहानैदेखि मुख्यमन्त्री शाहले दलहरुबीचको छलफललाई तीव्रता दिएका हुन् । केन्द्रमा बनेको पछिल्लो राजनीतिक समीकरणअनुसार सहजै विश्वासको मत लिने आंकलन गरिएपनि पावरसेयरिङमा कुरा नमिल्दा सहमति हुन सकेको थिएन ।

उन्मुक्तिले विश्वासको मत दिन सकारात्मक देखिएपछि मुख्यमन्त्री शाहको सुदूरपश्चिम सरकार जोगिने भएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद भए पुग्छ । नयाँ गठबन्धनसँग यहाँ कांग्रेसका १९, माओवादी केन्द्रका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ गरी ४१ जना सांसद छन् । यहाँ नेकपा (एमाले) का १० जना, राप्रपा र स्वतन्त्र १/१ जना सांसद छन् ।

नागरिक उन्मुक्ति मत दिने पक्षमा

सुदूरपश्चिम प्रदेश सभामा चौँथो निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको दिने भएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा नागरिक उन्मुक्ति पार्टी विश्वासको मत दिने सन्दर्भमा सकारात्मक भएको संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य रामेश्वर चौधरीले लोकपथलाई जानकारी दिए ।

सत्ता साझेदारीका लागि कांग्रेससँग लिखित प्रतिबद्धता खोजेको भएपनि आफूहरुले मतदान गर्ने उनले बताए । नागरिक उन्मुक्तिले सरकारमा जानका लागि आफूले दुईवटा मन्त्रालय पाउनुपर्ने शर्त अघि सारेको छ ।

सत्ता सहकार्यका लागि गठबन्धनमा रहेका दलहरुबीच लिखित प्रतिबद्धतासँगै पार्टीले आफूहरुले अघि सारेका मागहरु सम्बोधन हुने गरि सरकारमा समर्थन जनाउने बताएको हो ।

माओवादी केन्द्रको निर्णय कुर्दै

प्रदेशसभामाको दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) सत्ता सहकार्य विषयमा सहमतिको प्रयास गरिएपनि निर्णय दिएको छैन । सुदूरपश्चिम संसदीय दलको शनिबार बसेको बैठकले नेपाली कांग्रेसले संवादको वातावरण नबनाएकाले यथास्थितिमा विश्वासको मत दिनेबारे टुंगो लाग्न नसकेको जनाएको छ ।

यद्यपी, सत्ता सहकार्यमा पावरसेयारिङका विषयमा अडान लिएको बुझिएको छ । मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मतबारे छलफलकै क्रममा रहेको जनाएको हो । माओवादी केन्द्र विश्वासको मतबारे छलफलकै क्रममा रहेको संसदीय दलका नेता खगराज भट्टको निजी सचिवालयले जनाएको छ ।

‘शनिबार बिहानैदेखि छलफल जारी छ, ठाेस सहमति भएको छैन ।’ भट्टको सचिवालयले भन्यो, ‘माओवादीको तर्फबाट सरकारको नेतृत्व पाउनुपर्ने हाम्रो अडान कायमै छ, यसअघि चुनावी गठबन्धनका क्रममा नेपाली कांग्रेससँग सुदूरपश्चिम सरकार गठनमा दलका शीर्ष नेताहरुसँग भएको सहमतिमाअनुसार संवाद अघि बढेको छ ।’

माओवादीले विश्वासको मत दिनुअघि नै औपचारिक निर्णय गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?