अस्मिताको संघर्ष : बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

लोकपथ
39
Shares

ढोरपाटन । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छन् । अस्मिताको जीवनमा उमेरको मात्र संख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका संघर्षको चाङ पनि थपिँदो छ ।

विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिएकी अस्मिताको म्याग्दीकै मंगला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । विवाहलगत्तै विसं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको संघर्षका दिन शुरु भए । शुरुआती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्छिन् ।

उनका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्छन् । विद्यालय जान नपाएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उनले कालिका मन्दिर प्रवेशद्धारमा फूल–प्रसाद पनि बेचिन् । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गरिन् ।

अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुगे । विदेशमै बिरामी परेर दुःख पाएपछि छ वर्षअघि गणेश स्वदेश फर्किए । धन कमाउन विदेशिएको श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले रु ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किनेकी हुन् ।

छ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम शुरु गरेकी गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन शुरु गरे । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढेका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्छन् ।

केही रकम सहकारीमा बचत गर्ने गर्छन् । ‘कुनै कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ’, अस्मिता भनिन् । अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उनको भनाइ छ ।

शुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताइन् । संघर्षलाई निरन्तरता दिए सफलता मिल्ने उनी बताउँछिन् । ‘खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले संघर्ष सिकायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?