‘संसदीय अंकगणितले पहिचानमा आधारित नामाकरणमा असमर्थ भयौँ’

लोकपथ
42
Shares

काठमाडौं । बुधबार प्रदेश नं १ को नाम कोशी राखिएपछि माओवादी केन्द्रले आफूहरु पहिचानको आधारमा प्रदेशको नामाकरणमा असमर्थ भएको बताएको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा कोशी प्रदेशका लागि दुई तिहाइ बहुमतले नाम पारित भएको छ ।

माओवादी केन्द्रले पहिल्यैबाट पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने अडान राख्दै आइरहेको थियो । तर पहिचानको आधारमा नामकरण राख्न असमर्थ भए पनि त्यसलाई रोक्ने विकल्पहरु समेत असफल भएको स्पष्ट पारेको छ ।

कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले विज्ञप्ति जारी गर्दै पहिचानमा आधारित नामाकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशवाशी दुखी रहेको बताए । ‘पहिचानमा आधारित नामाकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशवासीसँगै हामी पनि दुखी छौँ । तर इतिहास दुखेसो मात्र गरेर बन्दैन ।

संघर्ष र जनमतबाट मात्रै इतिहास निर्माण गर्न सकिन्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै हामी फेरि दोहोर्याउँछौँ, संसदीय अंकगणीतको प्रतिकुलताले पहिचानमा आधारित प्रदेश नामाकरण गर्न असमर्थ भएका छौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै भोलिका दिनमा संसदीय अंकगणीत पुर्याएर पहिचानसहितको प्रदेशको नामाकरणमा लागि पर्ने अडान कायम रहेको समेत उनले बताए ।

त्यसैगरी प्रदेशमा दुई तिहाइ बहुमत पुर्याएर दलहरुले प्रदेशको नामाकरण गर्दा त्यसमा पनि आफुहरुको केही विकल्पहरु रहे पनि ती विकल्पहरु समेत प्रयोग गर्न असमर्थ रहेको उनले बताएका छन् । ‘संसदमा दुई तिहाइ संख्या भएका दलहरुले नामाकरणको प्रस्ताव अघि बढाएपछि हामीले नाममा पहिचान जोड्न अथक प्रयास गर्यौँ ।

तर, हाम्रो प्रयास अन्ततः विफल बन्नपुग्यो । हाम्रा अघि थोरै मात्रै विकल्प बाँकी थिए ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो, पहिचानसहितको नाममा दुई तिहाइ पुर्याउने, दोस्रो नामाकरण प्रक्रिया नै रोक्ने र तेस्रो प्रदेश नामाकरण नरोक्ने । प्रतिकूल गणीतले पहिलो विकल्पको संभावना थिएन । दोस्रो विकल्पमा जानु प्रदेशवासीको अपेक्षा र आफ्नै प्रतिवद्धताको पनि विपरित हुन्थ्यो । त्यसैले हामीले नामाकरणमा बाधक नबन्ने विकल्प रोजेको हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?