काठमाडौं । आठ दलीय गठबन्धनले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न लागेका हुन् ।
राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् । त्यस्तै, नेकपा (एमाले) ले सुवास नेम्वाङ उम्मेदवार उठाएको छ । आठ दलले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाएको कार्यदलले सातै प्रदेशमा प्रदेशसभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न प्रतिनिधि खटाएको छ ।
आफ्नो उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचनमा विजयी गराउन कांग्रेसले सातवटै प्रदेशमा प्रतिनिधि खटाएको हो । कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन् ।
त्यसका लागि कांग्रेसले कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई जिम्मेवारीसहित खटाएको छ ।
भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ । कांग्रेससहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीसहितको आठ दलीय गठबन्धनबाट पौडेल साझा उम्मेदवार हुन् ।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया