नेपालमा इसाईकरणको भयावह रुप : व्यवसायको आडमा धर्म प्रचार

काठमाडौं । नेपालमा दक्षिण कोरियाली नागरिकले क्रिश्चियन धर्मप्रचार गरिरहेको पाइएको छ । पर्यटक भिसामा नेपाल प्रवेश गरेका ती नागरिकले खुलेआम नेपालमा क्रिश्चियन धर्मको प्रचार गरेको पाइएको हो ।

सन् २०१२ मा नेपाल प्रवेश गरेका दक्षिण कोरियाली नागरिक योन् हो ली र उनको पत्नी किम थेयाङले तराई, मधेशदेखि पहाडका कुनाकाप्चासम्म खुलेआम क्रिश्चियन धर्मको प्रचार गरिरहेको तथ्य लोकपथलाई प्राप्त भएको छ ।

झण्डै ११ वर्षअघि नेपालमा क्रिश्चियन धर्म प्रचार गर्ने जिम्मेवारी लिएर आएका लीको पछिल्लो समय झनै बढी सक्रियता बढेको देखिन्छ । नेपालमा व्यवसाय गर्ने भन्दै विजनेश भिसा लिने र, त्यसैको आडमा नेपाल बसेर धर्म प्रचार गरिरहेको तथ्य लोकपथले फेला पारेको छ ।

अध्यागमन विभागका अनुसार ली ले सन् २०१४ अक्टुबर ५ तारिखदेखि राहदानी नम्बर (M10870788 OLD) र (M30265908 NEW) मार्फत विजनेश भिसा लिएको देखिन्छ । ली दम्पत्ती भने सन् २०१२ देखि नै नेपालमा छन् । यद्यपि, विभागसँग भने सन् २०१४ अघिको रकेर्ड नरहेको एक अधिकारीले लोकपथलाई जानकारी दिए । त्यस्तै, लीसँगै उनकी श्रीमती थेयाङ पनि आउजाउ गरिरहेको विभागको रेकर्डले देखाउँछ । थेयाङले भने राहदानी नम्बर (M5306151 OLD) र (M16539556) मार्फत नेपाल आइरहेको विभागले जनाएको छ ।

विभागमा उपलब्ध रेकर्ड पल्टाउँदा ली ले सन् २०२० डिसेम्बर ११ सम्म विजनेश भिसा लिएको देखिन्छ । यसबीचमा उनी १९ पटक कोरिया र नेपाल आउजाउ गरेका छन् ।

यो बीचमा उनी सन् २०२० नोभेम्बर १८ मा कोरिया उडेका थिए । कोरिया बसाइका क्रममा पनि भर्चुअलमार्फत नेपालीहरुलाई जोडेर धर्म प्रचार गरेका उनी फेरि पनि नेपाल भित्रिएका छन् । उनी २०२२ सेप्टेम्बर २८ मा पर्यटक भिसामा नेपाल आएका हुन् । यो बीचमा उनले नेपालका विभिन्न स्थानमा धर्म प्रचार गरी गत डिसेम्बर २३ मा कोरिया फर्किएका थिए ।

ली फेरि १३ फेब्रुअरीमा नेपाल आएका छन् । उसो त ली ले यतिबेला नेपालमा धर्म प्रचारमा आफ्नो सक्रियता बढाइरहेका छन् । पछिल्लो पटक आउँदा उनले थप १२ जना धर्म प्रचारकसमेत साथमा ल्याएको स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

उनीहरु यतिबेला धर्म प्रचारका क्रममा झापा पुगेका छन् । झापाको कामक्ष होटलमा इसाई धर्मबारे सेमिनार सञ्चालन गरिरहेको पाइएको छ । गत सोमबारबाट चलेको उक्त सेमिनार शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ । जसमा कोरियाबाट आएका दर्जनबढी धर्म प्रचारकहरुको समेत सहभागिता रहेको स्रोतले लोकपथलाई जानकारी दियो ।

विजनेश भिसा लिन उद्योगमा लगानीको नाटक !

घुमफिरका लागि नेपाल भित्रिएका लीको कालो कर्तुतबारे बुझ्न झण्डै ११ वर्षअघि पुग्नुपर्छ । जतिबेला ली पहिलोपटक नेपाल भ्रमणका लागि आएका थिए । नेपाल आएर लीले तीनजना नेपालीसँगको साझेदारीमा सामाखुसीमा सौल इन्टरनेशनल ल्याङ्वेज इन्स्टिच्युट दर्ता गराए । साझेदारका रुपमा तारा ढकाल, सुर्यप्रसाद सुवेदी, विनोद सुवेदी थिए । जसमध्ये, तारा र सूर्य ट्रेकिङ गाइड र बिनोद टुरिष्ट गाइडमा रुपमा सक्रिय थिए । उनीहरुले इन्स्टिच्युटमा समय दिन नभ्याउने भएकाले सौलको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी लीकै काँधमा थियो । यही मौका छोपेर इन्स्टिच्युट खोलेको तीन महिनापछि लीले व्यावसायिक अर्थात विजनेश भिसा लिए । त्यसपछि क्रमैसँग १/१ वर्षको भिसा थप्दै गएको देखिन्छ ।

इन्स्टिच्युटको मूख्य उद्देश्य कोरियन भाषा पढाउने थियो । सोहीअनुसार सन् २०१३ मा कोरियन भाषा पनि पढाइयो । उक्त ब्याचमा उत्तिर्ण भएका विद्यार्थीहरु कोरिया गएको सौलका एक लगानीकर्ताले लोकपथलाई जानकारी दिए ।

यहीबीचमा लीले साझेदारहरुको आँखा छली आफ्नो उद्धेश्य पुरा गर्न थाले । उनको उद्धेश्य थियो, नेपालमा क्रिश्चियन धर्म प्रचार गर्ने । उसो त ली कोरियन भाषाका सट्टा इन्स्टिच्युटमार्फ क्रिश्चियन धर्म प्रचारमा बढी सक्रिय हुन थाले । इन्स्टिच्युटमा फर्जी विद्यार्थीलाई हाजिर गराएर नियामक निकायको आँखामा छारो हाल्ने काम गरेको ती व्यक्तिले लोकपथलाई बताए । उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले बेला–बेलामा गर्ने अनुगमनका क्रममा तिनै फर्जी विद्यार्थीको हाजिरी देखाएर टार्थे । त्यसो त ली नेपालमा वैदेशिक लगानी ल्याएर व्यवसाय गर्ने भन्दा पनि धर्म प्रचारको लक्ष्य लिएर नेपाल आएको यहीँबाट पुष्टि हुन्छ ।

लीको यो हर्कत थाहा पाएपछि उनका व्यावसायीक साझेदारहरु झस्किए । त्यसपछि उनीहरुले २०७५ सालमा कम्पनीबाट बाहिरिने निधो गरे र वैधानिक रुपमै कम्पनी समेत खारेज गराएका थिए ।

चितवनमा खोले गार्मेन्ट कम्पनी !

कम्पनी खारेज भएपछि लीले नेपालमा विजनेश भिसा लिनका लागि अर्को जुक्ति लगाए । लामो अवधि नेपाल बस्नका लागि विजनेश भिसा लिने र नेपालमा धर्मप्रचार गर्ने उद्देश्य पूर्तिका लागि लीले बाराका मनोज चौधरीलाई साझेदारको रुपमा पाए । र, २०७५ साल पौष २६ गते झण्डै ५२ लाख वैदेशिक लगानीमा कम्पनी सञ्चालन गर्ने भन्दै चितवनस्थित भरतपुर महानगरपालिका–१२ मा त्रिएक फेसन गार्मेन्ट प्रा.लि नामको उद्योग दर्ता गरे । जसमा स्वदेशी पक्ष अर्थात मनोज चौधरीको ३.८५ प्रतिशत र विदेशी पक्ष अर्थात लीको ९६.१५ प्रतिशत लगानी रहने गरी उक्त कम्पनी दर्ता गरिएको थियो ।

उक्त उद्योगको कूल पुँजी ५२ लाख मध्ये स्थिर पूँजी २९ लाख र चालु पूँजी २३ लाख रुपैयाँ रहने उद्योग विभागले दिएको उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख छ । जसमा वार्षिक ३०० दिन कम्पनी खुला रहने, २९ जनालाई रोजगार दिने, २ सिफ्टमा चलाउने लगायतका शर्त राखिएको थियो । तर, त्यो कम्पनी यतिबेला निष्क्रिय छ । भने, साझेदार मनोज चौधरी पनि क्रिश्चियन धर्म प्रचारका लागि लीको मूख्य सहयोगीका रुपमा काम गर्दै आएको तथ्यसमेत लोकपथलाई प्राप्त भएको छ ।

कानूनको धज्जी उडाउँदै कम्पनी सञ्चालन !

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा स्थापना गरिएको उक्त कम्पनी विभागको स्वीकृति बिना नै अहिले चितवनस्थित बेलचोकमा सारिएको छ । यसरी वैदेशिक लगानीमा खुलेका जुनसुकै कम्पनीको ठाउँसारीका लागि उद्योग विभागबाट अनुमति लिनुपर्ने उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामी बताउँछन् । ‘वैदेशिक लगानीका कुनै पनि कम्पनी विभागको स्विकृतिबिना ठाउँ सारी गर्न पाईँदैन,’ धामी भन्छन्, ‘यदि त्यस्तो भएको रहेछ भने हामी अनुगमन गरी दोषीलाई कानूनी दायरामा ल्याउँछौँ ।’

ठाउँ सारी भएतापनि अहिलेसम्म उक्त कम्पनी मापदण्डअनुसार सञ्चालन हुन सकेको छैन । यसका साझेदार ली र मनोज दुवैजना यतिबेला खुलेआम धर्म प्रचारमा संलग्न रहेको लोकपथलाई प्राप्त भिडियो फुटेजले पुष्टि गर्छ ।

चितवनस्थित त्रिएक फेसन गार्मेण्ट प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७५ पौष २६ गते दर्ता भएको थियो । यद्यपि, हालसम्म उक्त कम्पनीको लेखापरीक्षण र वार्षिक प्रतिवेदन अद्यावधिक नभएको कम्पनी रजिष्ट्रार कार्यालयका सहायक रजिष्ट्रार दिपकमणी पोखरेलले लोकपथलाई जानकारी दिए ।

नेपालीलाई प्रयोग गरी धर्म प्रचार !

ली, कोरिया हुँदा होस् या नेपाल भौतिक र भर्चुअलमार्फत धर्म प्रचार गर्दै आएका छन् । गत डिसेम्बरमा नेपाल आएका लीले जुममार्फत भएको प्रभू भोज नामक कार्यक्रममा आफू फेरि पनि धर्म प्रचारका लागि नेपाल आएको खुलासासमेत गरेका छन् । लोकपथलाई प्राप्त भिडियो फुटेजमा मनोज चौधरीले लीलाई सहयोग गरेको देखिन्छ ।

उक्त प्रभू भोजमा मनोजले नेपालमा भइरहेको बाइबल प्रचारका गतिविधिका बारे बताएका थिए । जसलाई लीले कोरियन भाषामा अनुवाद गरी सम्मेलनमा सहभागिलाई सुुनाएका थिए । यो कार्यक्रममा नेपालका ११ स्थानबाट मानिसहरु सहभागि भएको मनोजले कार्यक्रममा बताएका थिए ।

कार्यक्रममा बोल्ने क्रममा उनले नेपालका युवाहरुले ‘बाइबल सत्य छ’ भन्दै विभिन्न भागमा प्रचार गरिरहेको समेत बताएका थिए । ‘मेरो जन्मजिल्ला बाराका युवाहरु भेला भएर इसाइ धर्मको प्रचार गरिरहेका छन्,’ उनले भने, ‘मसँगै नेपालका दाजुभाईहरुले सेमिनारका बचन निरन्तर सुनेर प्रचार गर्नुपर्छ भन्ने प्रण गर्दछु ।

मनोजसँगै, कोरियाली नागरिकलाई नेपालमा धर्मप्रचारमा सहयोग पुर्याउने अर्का व्यक्ति हुन्, पवन यादव । पवनलाई त लीले आफ्नो म्यानेजरसमेत बनाएको स्रोतले लोकपथलाई जानकारी दियो । यादवले पनि भर्चुअलमार्फत भएको अन्तर्राष्ट्रिय बाइबल सम्मेलनमा नेपालमा कसरी इसाई धर्मको प्रचार भइरहेको छ भन्नेबारे बताएका थिए । पवनले उक्त सम्मेलनमा बोलेको कुरालाई लीले अनुवाद गरेका छन् । अन्तर्राष्ट्रिय बाइबल सम्मेलनमा पवनले नेपाल र नेपालीको धार्मिक आस्थाप्रति नै चोट पुर्याउने गरी भनेका छन्, ‘नेपाल देवी देवताको मुर्ती नै मुर्ती भएको देश हो ।

त्यसैले सैतानले यहाँका मानिसको मनलाई बाँधेको हुँदा मन खुलेको छैन । यहाँ हामीले परमेश्वरको बारेमा बताउँदा उनीहरु पत्याउँदैन । तर, मैले यस्तो ठाउँमा जन्मिएर परमेश्वरको शरणमा पर्न पाउँदा आफ्नो उद्धार भएको महशुस गरेको छु । यस्तो गाह्रो ठाउँमा पनि हाम्रोे रेखदेख गरेकोमा कोरियाका सम्पूर्ण नागरिकलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु ।’

नेपालमा लीले कहिले र कहाँ गरे धर्म प्रचार ?

२०२२ अगष्ट २ बाट सुरु भएको अन्तराष्ट्रिय बाइबल सम्मेलनमा ली ले नेपालमा बाइबलको प्रचार कसरी भइरहेको छ भन्नेबारे जानकारी गराएका थिए ।भर्चुअलमार्फत भएको उक्त सम्मेलनमा लीले आफूलाई नेपालको मिसनरी (धर्मप्रचारक अर्थात पादरी) भन्दै सुरुमै परिचय दिन्छन् । यसपछि उनले ‘बाइबल सत्य छ’ प्रचारका क्रममा गरिएका गतिविधिलाई बताएका थिए ।

लीले उक्त सम्मेलनमा बताएअनुसार ‘सन् २०२२ मे २ देखि ६ तारिखसम्म नेपालमा १८ औँ बाइबल सत्य छ भन्ने सेमिनार गरिएको थियो । त्यस्तै, १९ औँ सेमिनार २०२२ जुन १३ देखि १७ तारिखसम्म, २० औँ सेमिनार २०२२ जुलाई ११ देखि १५ तारिखसम्म भएको उनले बताएका छन् ।

 

अनलाइनमार्फत भएको उक्त सेमीनारमा काठमाडौं, चितवनको माडी, रौतहटको भोलन्टार लगायतका स्थानबाट नेपालीहरु जोडिएको उनले सम्मेलनमा तस्बिरसहित देखाएका छन् । सो सम्मेलनमा धर्म प्रचारमा सहयोग गरिरहेका चौधरी र यादवले पनि आफ्नो अनुभव सेयर गरेका थिए । सम्मेलनमा चौधरीले भनेका छन्, ‘२०१४ को ‘बाइबल सत्य छ’ भन्ने सेमिनारमा सहभागि भएपछि मैले मुक्ति पाएँ ।’ यसरी निर्वाध रुपमा नेपाल प्रवेश गरेर धर्म प्रचार गर्दा पनि नियामक निकाय भने मुकदर्शक बनिरहेका छन् । नेपाल आउनेलाई भिसा दिने तर, ती पर्यटक कुन गतिबिधिमा संलग्न छन् भन्ने समेत निगरानी राख्न सकेका छैनन् । यसले ली जस्ता पात्रलाई नेपालमा धर्मको प्रचार गर्न सहज भइरहेको छ ।

यता अध्यागमन विभागका उपसचिव तथा सूचना अधिकारी कमल पाण्डे भने कोही विदेशी नागरिक नेपालमा आएर धर्म प्रचार वा धर्म परिवर्तन गर्ने कार्यमा संलग्न भएको पाइएमा उसलाई अनुसन्धान गरी तुरुन्त निष्काशन गरिने बताउँछन् । ‘यसका लागि हाम्रा पर्यटक प्रहरीहरुले सुक्ष्म अध्ययन गरिरहनु भएको हुन्छ,’ लोकपथसँगको कुराकानीका क्रममा पाण्डे भन्छन्, ‘यदि प्रमाणसहित धर्म प्रचार गरेको पाइयो भने ती नागरिकलाई ५ वर्ष नेपाल आउन प्रतिबन्ध लगाएर निष्काशन गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?