स्ववियु नजिकिँदा नेविसंघका दुई समूहबीच झडप, शिव रिमाल घाइते

लोकपथ
1.1k
Shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद देखिएको छ ।

बिहीबार नेविसंघको संस्थापन र इतर समूहबीच झडप हुँदा केही नेता घाइते भएका छन् ।

झडपमा नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमालसहित नेताहरु हरि आयार्च, श्यामचन्द्र अधिकारी लगायत घाइते भएका छन् । हाल उनीहरुको स्टार अस्पतालमा उपचार भइरहेको नेविसंघका नेता भुवन भट्टले लोकपथलाई जानकारी दिए ।

आज दिउँसो कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको विषयमा छलफलका क्रममा संस्थापन इतर समूहका विद्यार्थीहरुले रिमालमाथि आक्रमण गरेको उनको आरोप रहेको छ ।

बुधबार संस्थापन इतरबाट रिमालले काठमाडौं उपत्यकाका विभिन्न ३५ वटा क्याम्पसहरुमा स्ववियुको लागि प्रतिनिधि पठाएका थिए । भागबण्डा अनुसार प्रविन कैनीलाई त्रिवि केन्द्रीय क्याम्पसमा पठाइएको थियो । आज सोही प्रतिनिधिसहित केन्द्रीय क्याम्पसमा उपस्थितीमा स्ववियुको सन्दर्भमा छलफल भइरहेको थियो । सो क्रममा संस्थापन समूहका केही विद्यार्थी नेताहरु त्यहाँ गएको र दुई समूहबीच विवाद उत्पन्न हुँदा झडप भएको थियो ।

घाइते भएका रिमालको घाउको र नाकमा चोट लागेको छ ।

‘स्ववियुको विषयमा छलफल भइरहेको ठाउँमा विवाद हुँदा हमला भएको हो ।’ भट्टले भने, ‘हामीमाथि संस्थापन समूहबाट हातपात हुँदा शिव रिमालसहित हरि आचार्य, श्यामचन्द्र अधिकारी लगायत घाइते भएका छन् । अहिले स्टार हस्पिटलमा उपचार भइरहेको छ ।’

नेविसंघमा पछिल्लो समय गुटगत गतिविधि मौलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?