माधव नेपालसँग भोट माग्न नेम्वाङ जाँदै, अरु को–कोसँग माग्दैछन् मत ?

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले सबै राजनीतिक दलसँग मत माग्ने भएका छन् ।

नेम्वाङले भेटघाटसहित सबै राजनीतिक दलहरुसँग मत माग्ने कार्यक्रम रहेको लोकपथलाई जानकारी दिए ।

त्यसको लागि आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न जाँदै गरेको उनले बताए । त्यस्तै आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेसँग भेट्ने कार्यक्रम रहेको लोकपथलाई जानकारी दिए ।
‘अहिले माधव कमरेडसँग भेट्न जाँदैछौँ ।’ उनले भने, ‘त्यस्तै आज नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेसँग भेट्ने कार्यक्रम तय भएको छ ।’

त्यसो त फागुन १३ गते राष्ट्रपतिमा उम्मेदवारी दिएसँगै अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् नेम्वाङ । साना दलहरुसँग भेटघाटपछि कांग्रेस माओवादी लगायतका ठूला राजनीतिक दलहरुसँग समेत भेट्ने कार्यक्रम रहेको उनले बताए ।
‘उम्मेदवार भइसकेपछि भेट्घाट गर्नु स्वभाविक हो । भेटघाट जारी रहेको छ । अब नेपाली कांग्रेस माओवादी केन्द्र लगायतका दलका शीर्ष नेताहरुसँग पनि भेट्छौँ ।’ नेम्वाङले भने ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेबाट नेम्वाङ र ८ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलबीच प्रतिष्पर्धा हुँदैछ । अन्य राजनीतिक दलहरु एक ठाउँमा भएको अवस्थामा लिङ्देनले भेटघाट गरि आफ्नो पक्षमा माहोल ल्याउने तयारीमा नेम्वाङसहित एमाले लागेको छ ।

उता कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले पनि अन्य राजनीतिक दलसँग भेटघाट गरी मत मागिरहेका छन् । मंगलबार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र दिएरै मत मागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?