प्रदेश १ को नामकरण : विरोध प्रदर्शन रोक्न विराटनगरमा निषेधाज्ञा

लोकपथ
133
Shares

विराटनगर । प्रदेश १ प्रदेशसभाले प्रदेशको नामकरण टुंगो लगाउने तयारी गरेसँगै जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेशसभामा नामकरणलाई लिएर विरोध प्रदर्शन हुनसक्ने आंकलन गर्दै सुरक्षा स्थितिलाई सहज बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो । प्रशासनले विराटनगरका केही स्थानमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरेको छ ।

प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति २०७९/११/१७ गते दिउँसो ३ः ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो आदेश उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

प्रदेश १ को नामकरणको लागि प्रदेशसभामा दुईवटा प्रस्ताव दर्ता भएको छ । एमाले र कांग्रेसले संयुक्त रूपमा ’कोसी प्रदेश’ प्रस्ताव गरेका छन् । त्यस्तै नेकपा एस र जसपाले संयुक्त रूपमा ’किराँत लिम्बुवान सगरमाथा’ प्रस्ताव गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?