काठमाडौं । प्रदेश नं.१ को प्रदेशसभा बैठकमा नामाकरणको प्रस्ताव पेश गर्न दिइएको समयसीमाभित्र प्रस्ताव दर्ता नभएपछि एक घण्टा समय थप गरिएको छ । प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२ः०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन समय दिइएको थियो ।
उक्त समयसम्म प्रस्ताव पेश हुन नसकेपछि प्रदेश सभामुखको आग्रहमा समय थप गरिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरिएको हो ।
प्रदेश नम्बर १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज दिउँसो १२ः०० बजे देखि ०१ः०० बजे सम्म समय थप गरिएको छ ।
प्रदेश १ को नामाकरणका विषयमा सहमति जुट्न सकेको छैन । दलहरुबीच सहममतिको प्रयास गरिएपनि साझा सहमति हुन नसकेको हो । प्रदेशको नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् ।
पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् । यी दुई ठूला दलको पक्षमा राप्रपा पनि छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया