प्रधानमन्त्रीले विश्वासको मत र मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ ?

लोकपथ
210
Shares

काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीको विश्वासको मत राष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने बताएकी छिन्।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता समेत रहेकी शर्माले सो कुरा बताएकी हुन् ।

अहिले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएको कारण प्रधानमन्त्रीको ध्यान त्यतातिर रहेको कारण निर्वाचनपछि मात्रै अन्य काम हुने उनले बताइन् ।

‘प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने जुन संवैधानिक, कानूनी प्रावधान छ, त्यो प्रावधानअनुसार गरिन्छ र समय सीमा पनि त्यसै अनुसार हुन्छ। तर अहिले हामी राष्ट्रपतिको चुनावको नजिक छौँ। राष्ट्रपतिको चुनावको नजिक भइराखेको हुनाले ध्यान त्यतातिर केन्द्रित पनि छ। त्यसकारणले राष्ट्रपतिको चुनाव पछाडि पनि हुनसक्छ। राष्ट्रपतिको चुनाव अगाडि हुन्छ भन्ने कुराको कुनै मिति किटान भएको छैन। त्यसकारण तिथिमिति किटान गरेका छैनौँ। तर संवैधानिक परिधि, सीमाभन्दा बाहिर नजाने गरेर विश्वासको मत लिने कार्यक्रम हुन्छ’, उनले भनिन्, ‘नयाँ ढंगको परिस्थिति विकास भएको छ। मन्त्रिपरिषद् विस्तारको कुरा पनि सम्भवतः मलाई लाग्छ, राष्ट्रपतिको निर्वाचन पछाडि नै यसलाई व्यवस्थित ढंगले, केही छलफल पनि गर्नुपर्ने हुन्छ गठबन्धन दलभित्र ।’

त्यसैगरी अहिले गठबन्धनमा आवद्ध दलमध्ये कुन कुन दल सरकारमा सामेल हुने भन्ने टुंगो नलागेकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनले बताइन् ।

‘सरकारबाट निस्किसकेको अवस्थामा कुनकुन पार्टी सरकारमा प्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?