काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सरुवा सम्बन्धी मापदण्ड तर्जुमा गरिने भएको छ ।
आज सुशासन समितिका संयोजक ख्यामराज तिवारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सेवा, सर्त तथा सुविधा व्यवस्थापन गर्न बनेको ऐन २०७७ को दफा ११४ र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड तयार पार्ने र स्वीकृतिका लागि कार्यपालिकामा लैजाने बैठकले निर्णय गरेको हो ।
कर्मचारीहरुको कार्य क्षेत्रगत अनुभव र व्यक्तिगत कार्य क्षमता विकास गर्न सरुवा मापदण्ड आवश्यक देखिएको छ । संयोजक तिवारीले भने, ‘यसबाट कर्मचारीको सरुवा न्यायपूर्ण र व्यवस्थित हुन्छ । मनोबल उच्च हुन्छ ।’
नियुक्त हुँदाको सेवा, समूह, योग्यता, दक्षता तथा साविक पदमा बसेर काम गर्दाको कार्य सम्पादनलाई सरुवाको मापदण्ड बनाउनु पर्ने बैठकमा सुझाव प्राप्त भएको छ । कार्य सम्पादन प्रक्रियामा गुनासो आएमा २ वर्षको अवधि पूरा नभए पनि सरुवा गर्न सकिने विषय बैठकमा महत्वका साथ उठेको थियो ।
सरुवा गर्ने समय, रवाना लिने, हाजिर हुने, कार्य विवरण पठाउने, अन्यत्र कार्यालयबाट सरुवा भएर आएका कर्मचारीहरुको व्यवस्थापन लगायत विषय मापदण्डमा समेटिने छन् ।
बैठकमा समितिका सदस्यहरु भाइराम खड्गी, सरोज ढकाल, विभागीय प्रमुख दिपक अधिकारी, महाशाखा प्रमुखहरु गंगाधर गौत्तम र सरिता राई रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया