काठमाडौं । प्रतिनिधि सभामा निर्वाचित भएका ११ जना सांसदले अझैपनि सम्पत्ति विवरण बुझाएका छैनन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट चुनिएका सांसदहरुले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएका हुन् ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ । निर्वाचित सांसदले सम्पत्ति विवरण बुझाउनुपर्ने ऐनमा व्यवस्था भएपनि उनीहरुले उल्लंघन गरेका हुन् । संसद् सचिवालयले ७ फागुनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो ।
तरपनि उनीहरूले सम्पत्ति विवरण बुझाउन अटेर गरेका छन् । संघीय संसद् सचिवालयका अुनसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा ठ ठूलो दल कांग्रेसका सांसदहरू उदय शमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ छन् ।
एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महीन्द्र राय यादव रहेका छन् ।
यस्तै यसअघि ज्येष्ठ सदस्यको रूपमा अध्यक्ष भएर सांसदहरूलाई शपथ खुवाएका राप्रपाका सांसद पशुपति शमशेर जबराले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।
भ्रष्टाचार निवारण ऐनको दफा ५० (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन दफा ३१ (क) (१) ले सार्वजनिक पद धारण गरेको व्यक्तिले शपथ लिएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । विवरणमा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहित उल्लेख गर्नुपर्छ ।
सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया