देउवाले ओलीलाई पठाए राष्ट्रपतिमा पौडेललाई भोट माग्दै पत्र

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति निर्वाचनमा भोट माग्दै पत्र पठाएका छन् ।

कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले पत्र पठाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाएका छन् ।

गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तो छ देउवाले ओलीलाई पठाएको पत्र

श्री केपी शर्मा ओलिजी,
अध्यक्ष, नेकपा एमाले

विषय : राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि ।

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आ–आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौँ ।

लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौँ । यो अभ्यासले समाजलाई सु–संस्कृत सन्देश दिन सक्नुपर्छ । त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु । राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।

राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौँ । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु–संस्कृत अभ्यासको खोजी हुन्छ ।

विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ । यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु ।

सालिन, बौद्धिक र सु–संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ ।

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु ।

जय नेपाल

शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
०७९ फागुन १५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?