काठमाडौं । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णयसँगै बनेको आठ दलीय गठबन्धनको बैठक सकिएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल बनाउने र त्यसले पार्टीभित्र र अन्तर पार्टी छलफल गर्ने निर्णय गरेको छ ।
प्रत्येक दलबाट एक–एक जना सदस्य रहने कार्यदलले राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने समझदारी भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचनका लागि कार्यदलमा रहेका सदस्यहरुले आ–आफ्नो पार्टीको जिम्मेवारी लिनुपर्ने निर्णयसमेत गरिएको छ ।
बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेको हो । उक्त कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासिचव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र जनमत पार्टीबाट अब्दुल खाँ रहेका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । त्यस्तै, बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ । ती कार्यक्रममा गठबन्धन दलका नेताहरू सहभागी हुनेछन् ।
बैठकले संघ तथा प्रदेशसभाका सांसदहरूलाई फागुन २३ गते सम्म काठमाडौं आइसक्न निर्देशन दिएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । जसमा आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएको छ भने नेकपा एमालेका तर्फबाट सुवाचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया