उपराष्ट्रपति उम्मेदवारबारे जसपामा छलफल शुरु

लोकपथ
52
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल शुरु गर्ने भएको छ । आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि अहिले छलफल शुरु भएको हो ।

जसपामा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर आन्तरिक छलफल शुरु हुनाका साथै त्यसका लागि नेताहरूको लबिङसमेत हुन थालेको बताइएको छ । जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ भने दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा रहेको बताइएको छ ।

जसपाका कार्यकारिणी सदस्यसमेत रहेका यादवले उपराष्ट्रपतिको उम्मेदवारका बारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए । उनले भने, ‘मेरो उपराष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा पार्टीमा अहिले कुनै छलफल भएको छैन, मलाई त्यसका बारेमा कुनै जानकारी पनि छैन ।’

उपराष्ट्रपतिको विषयमा छलफल हुन बाँकी रहेको र पार्टीले उपराष्ट्रपतिको विषयमा जे निर्णय गर्छ त्यो आफूलाई स्वीकार हुने उनको भनाइ थियो । आठ दलीय गठबन्धनको सहमतिअनुसार आज कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यही फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी दिने समय तोकिएको छ । त्यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनुपर्ने हुन्छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?