जनमोर्चाले भन्यो– ‘देशमा प्रतिगमन लाद्ने प्रयत्न भएकाले रामचन्द्रलाई समर्थन’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ । राष्ट्रपतिमा कांग्रेसले अगाडि सारेको उम्मेदवारलाई समर्थन गर्दै विजय गराउनुपर्ने आवश्यकता रहेको जनमोर्चाले जनाएको हो ।

‘नेकपा एमालेको नेतृत्वकाे सरकारले विगतमा दुई/दुई पटक संसद भंग गरेर, नौ/नौ महिनासम्म संसदलाई चल्न नदिएर, जनताका आवाजहरुलाई संसदमा उठाउनबाट सांसदहरुलाई बञ्चित गरेको जगजाहेर नै छ,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको  विज्ञप्तिमा भनिएको छ ।

एमालेको उद्देश्य राष्ट्रपति संस्थालाई आफ्नो छुद्र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने गुरु योजना रहेको, राष्ट्रपति जस्तो सम्मानित र उच्च संस्थालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर विवादित र त्यसको छविलाई धुमिल खोजिरहेको अध्यक्ष केसीले भनेका छन् ।

विज्ञप्तिको पूर्णपाठ :

२०७९ फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारका रुपमा श्री रामचन्द्र पौडेललाई अगाडि सारेको छ । हाम्रो दलले नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएका श्री रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ । अहिले पनि नेकपा एमालेको नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन । विगतमा दुई/दुई पटक संसद भंग गरेर, नौ/नौ महिनासम्म संसदलाई चल्न नदिएर, जनताका आवाजहरुलाई संसदमा उठाउनबाट सांसदहरुलाई बञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ ।

संसद जनप्रतिनिधि संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था हो, प्रधानमन्त्रीले चाहेका बखत कुनै पनि बेला भंग गर्न सकिन्छ भन्ने मान्यताबाट एमाले पछाडि हटेको छैन । राज्यका सबै प्रमुख पदहरुमा कब्जा गरेर एमालेले देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको छ ।

एमालेको उद्देश्य राष्ट्रपति संस्थालाई आफ्नो छुद्र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने गुरु योजना रहेको छ । विगतमा पनि एमालेले राष्ट्रपति जस्तो सम्मानित र उच्च संस्थालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर राष्ट्रपति संस्थालाई विवादित बनाएर त्यसको छविलाई धुमिल पारेको इतिहास सबैका अगाडि स्पष्ट नै छ ।

त्यो स्थिति नदोहोरियोस् भन्नका लागि प्रतिगमनकाविरुद्ध रहेका दलहरु मध्येबाट नै राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त हुन्थ्यो । त्यसैले कांग्रेसले अगाडि सारेको उम्मेदवारलाई समर्थन गर्दै विजय गराउनु पर्ने आवश्यकतामा हाम्रो दलले जोड दिन्छ ।

चित्रबहादुर के.सी.
अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?