राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

लोकपथ
91
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले औपचारिक निर्णय गरेको हो ।

यसैगरी उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरूबीच सैद्धान्तिक सहमति भए पनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको उनको भनाइ छ ।

नयाँ बनेको गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चाले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?