काठमाडौं । नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।
पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यसअघि नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।
राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया