रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुलुकको सर्वाेच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?