काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष १९ हजार ४ सय उजुरी परेको छ ।
आयोगमा परेको उजुरी मध्ये सबैभन्दा धेरै शिक्षासम्बन्धी छ भने दोस्रो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरी परेको छ ।
सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले राष्ट्रपतिसमक्ष २ सय ४७ पृष्ठको प्रतिवेदन बुझाएका हुन् ।
उक्त प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७३–०७४ मा अख्तियारमा १९ हजार ४ सय उजुरी परेको छ । जसमध्ये ६ हजार ४ सय ५८ वटा प्रारम्भिक छानबिन गरेर तामेलीमा राखेको, २ सय ६२ वटा सुझावसहित तामेलीमा राखेको, ५ सय ४६ वटामा विस्तृत अनुसन्धान गरिएको र ५ हजार १ सय ३४ वटामा अन्य आवश्यक कारबाही भएको अख्तियारले जनाएको छ ।
त्यस्तै सोमवार अख्तियार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामेश्वर दंगालले अख्तियारले गत आर्थिक वर्षमा १६ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको समेत जानकारी दिए ।
यसैगरी भ्रष्टाचार मुद्दामार्फत तराईमा ४ सय १० विघा १३ कठ्ठा र पहाडमा ५३ रोपनी ६ आना जग्गा सरकारको नाममा ल्याउन सफल समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया