विराटनगर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्य गर्न कांग्रेस सकारात्मक भए राष्ट्रपति चुनावमा सहकार्य गर्न सकिने बताएका छन् ।
एमालेले शुरु गरेको ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथरमा आएका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेस तयार भइनसकेको बताए ।
पत्रकारसँग कुरा गर्दै उनले पछिल्ला दिनमा नेताहरुका कतिपय अभिव्यक्तिहरुले सशंकित र चिन्तित बनाएको बताए । उनले भने ‘नेताहरुका कतिपय अभिव्यक्तिहरुले सशंकित बनाएको छ । केही आशंकाहरु पैदा भएका छन् तरपनि, हामी अझैसम्म छलफलमै छौँ । हामी चाहान्छौँ छलफलबाट आशंकाहरु दूर भएर जाऊन् ।’
उनले एमाले स्थिरता कायम गर्न जोसुकैसँग पनि सहकार्य गर्न तयार रहेको बताए । नेता ज्ञवालीले मुलुक राजनीतिक अस्थिरतातर्फ गएको बताए । गठबन्धनभित्र राजनीतिक अस्थिरतामा मुलुक जाँदा हित नहुने भएकाले कांग्रेस सकारात्मक भएर आए राष्ट्रपतिकै चुनावबाट ऊसँग सहाकार्य गर्न सकिने उनको भनाइ थियो । उनले निर्वाचनको परिणाम आएसँगै कांग्रेसँग एमालेले छलफल गर्न चाहेको बताए ।
उनले भने ‘देशी विदेशी शक्तिको चलखेल बढेको छ । देशमा अस्थिरता ल्याउन खोजेका छन् । यसमा अन्य पार्टीका नेताहरु प्रयोग भइरहेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया