स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसंघ

लोकपथ
26
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै नेविसंघले स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन तयारीलाई तीव्रता दिएको हो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आगामी स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न पाँच समिति गठन गरेर चुनावी प्रचारलाई तीव्रता दिएको बताए ।

उनका अनुसार नेविसंघले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारी, प्रचारप्रसार, प्रशिक्षण, विद्यार्थी समन्वय र सुरक्षा समन्वय समिति गठन गरेको हो । क्याम्पसदेखि विश्वविद्यालयसम्ममा प्रतिनिधि पठाउने कुरा अगाडि बढिसकेको उनले जानकारी दिए । नेविसंघले जिल्ला समिति गठनलाई समेत तीव्रता दिएको छ ।

लामो समयपछि हुन लागेको निर्वाचनमा यही फागुन १९ गते विद्यार्थी संघसंगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै, फागुन २८ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरेको छ ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन विसं २०६५ सालयता नियमित हुन सकेको छैन । हाल देशभर त्रिविका ६२ आङ्गिक र एकहजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?