राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो बन्दा पौडेल र सिटौला मध्ये को होलान् उम्मेदवार ?

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेले नेतृत्व गरेको वर्तमान गठबन्धन विघटनको डिलमा पुग्दा निर्वाचन पूर्वकै गठबन्धन ब्युँताउने खेलमा दलहरु पुगेका छन् ।

जसअनुसार अब राष्ट्रपति नेपाली कांग्रेसको पोल्टामा पर्ने निश्चित जस्तो देखिएको छ । नेकपा एकीकृतका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा चाहना गरे पनि उनलाई यही संसदभित्रै केही समय प्रधानमन्त्री बनाउने गरी सहमति खोजिने भएको छ ।

नयाँ गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एसका अतिरिक्त जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टी पनि सहभागि हुने भएका छन् । फागुन १३ गते भोलि राष्ट्रपतिको मनोनयन गर्नुपर्ने भएकाले शुक्रबार साँझ बस्ने यी दलहरुको बैठकले राष्ट्रपति, उपराष्ट्रपतिदेखि सत्ता–शक्तिमा साझेदारीबारे निर्णय लिनेछन् ।

यस्तोमा कांग्रेसले राष्ट्रपति पाउँदा को उम्मेदवार हुनेछन् भन्ने चासो बढेको छ । कांग्रेसभित्र दुई नेताको दाबेदारीलाई बलियो रुपमा हेरिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाको दाबेदारी बलियो देखिएको हो ।

पार्टीभित्र सभापति शेरबहादुर देउवासहितका नेताहरु पौडेलका पक्षमा देखिएका छन् । १४ औं महाधिवेशन र संसदीय दलको निर्वाचननमा आफ्नो समूहलाई धोका नै दिएको भए पनि पौडेललाई संस्थापन इतर समूहले पनि सघाउने देखिएको छ ।

तर, सिटौलाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थन देखिएको छ । कांग्रेसले राष्ट्रपति पाउँदा सिटौलालाई बनाए आफूलाई काम गर्न सजिलो हुने प्रचण्डले देउवासमक्ष बताएको सूचना आउनुले पनि पार्टीले निर्णय नगर्दासम्म ‘रात रहे अग्राख पलायो’ भन्ने उखान पो सार्थक हुन्छ कि भन्ने छ ?

उसोत, संस्थापन पक्षका नेता रामहरि खतिवडा कांग्रेसले राष्ट्रपति पाउँदा रामचन्द्र पौडेल नै एक मात्र उम्मेदवार भएको बताउँछन् । पौडेललाई राष्ट्रपति बनाएर पार्टीभित्र न्याय गरिनुपर्ने उनको मत छ ।

पौडेल र सिटौलाबीचको दूश्मनी पार्टीभित्र लामै छ । त्यसैले पनि सिटौलाकै कारण पौडेलले मुखमा आएको पद त गुमाउँदैनन् भन्ने आशंका गर्नेहरु पनि उत्तिकै छन्, कांग्रेसभित्र ।

१३ औं महाधिवेशनमै पार्टी सभापतिको नजिक पुगेका पौडेललाई कुनै हालतमा पनि सभापति नस्वीकार्ने भन्दै तत्कालीन कोइराला शिवरभित्रै रहेका सिटौलाले तेस्रो धार खडा गरेपछि देउवालाई सभापति जित्न सजिलो भएको थियो ।

पहिलो चरणमा तीनै नेता निर्वाचनमा होमिएकामा विधानअनुसार सभापति निर्वाचित हुन चाहिने आवश्यक ५१ प्रतिशत मत कसैको पनि नआएपछि दोस्रो चरणमा भएको मतदानमा सिटौलाले देउवालाई सघाएका थिए ।

त्यसयता तेस्रो धारको नेताका रुपमा पार्टीभित्र अवसर बाँडफाँड गर्दै लाभ लिएका सिटौला र पौडेलबीच राम्रो सम्बन्ध हुन सकेको छैन । यद्यपि, १४ औं महाधिवेशनमा सिटौलाले खुलेर देउवालाई समर्थन गरेका थिए भने पौडेल मौन समर्थन गर्न पुगे ।

जसरी पनि पौडेल रोक्ने सिटौलाको सूत्रले काम गरेन भने र कांग्रेसले राष्ट्रपति पाउँदा पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित झै देखिन्छ । हुनत, कांग्रेसका केही नेता सभापति देउवालाई नै राष्ट्रपति बन्न कर गरिरहेका छन् । देउवाले भने ‘कहाँ हुन्छ त्यस्तो’ भन्दै अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?