काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारका बारेमा निर्णायक मानिएको ४ दलको बैठक सकिएको छ ।
केहीबेरअघि सकिएको बैठकमा राष्ट्रपतिको उम्मेदवारको बारेमा विभिन्न विकल्पमा छलफल भएको बैठकमा सहभागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
बैठकमा राष्ट्रपतिको उम्मेदवारको विषयमा विभिन्न विकल्पमा छलफल भएको र उक्त छलफल सकारात्मक रहेको उनले बताए ।
‘विभिन्न विकल्पहरुको बारेमा छलफल भयो । छलफल एकदम सकारात्मक रहेको छ । ’ उनले भने ।
त्यसको साथै सबै राजनीतिक दलहरुले आ–आफ्नो दलसँग छलफल गर्नका लागि बैठक स्थगित गरिएको र पुनः ५ बजे बसेर निर्णयमा पुग्ने उनले बताए ।
‘आ–आफ्नो दलहरुसँग छलफल गर्नुपर्ने आवश्यक्ता महसुस गरेर छलफल सकिएको हो । हामी पुनः ५ बजे बैठक बस्नेछौँ । निर्णयमा पुग्नेछौँ ।’ थापाले भने ।
बैठकमा कांग्रेससहित अन्य राजनीतिक दलहरुले सम्भावित उम्मेदवारका बारेमा प्रस्ताव लगेका थिए । राष्ट्रपतिमा नेपाली कांग्रेसले मुख्य दाबेदारी गरिरहेको छ । तर नेकपा एकीकृत समाजवादीका अध्यक्षको नाम सर्वसम्मतिका लागि अघि आएको छ । तर बैठकमा सबै राजनीतिक दलहरुको प्रस्तावको विषयमा छलफल भएको पछि बस्ने बैठकले निर्णय गर्ने थापाको धारणा रहेको छ ।
‘हाम्रो पार्टीको उम्मेदवारलाई सबै राजनीतिक दलहरुले सहयोग गर्नुहोस् भन्ने विषयमा हाम्रो प्रस्ताव रहेको छ । त्यसबाहेक पनि अन्य राजनीतिक दलहरुले पनि आ–आफ्नो उम्मेदवारका बारेमा कुरा राख्नुभएको छ । हामी पछि बस्ने बैठकबाट निर्णयमा पुग्नेछौँ ।’ महामन्त्री थापाले भने ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बैठक बसेको थियो । बैठकमा प्रचण्डसहित माओवादीका केही पदाधिकारीको सहभागिता रहेको थियो । यता नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।
भोलि राष्ट्रपति निर्वाचनको मनोनयन दर्ताको समय तोकिएको छ । आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया