कांग्रेसले साथ दिए माधव नेपाल राष्ट्रपतिको उम्मेदवार !

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचनाबारे बालुवाटारमा निर्णयक वार्ता जारी रहेको छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा अहिले वार्ता जारी रहेको हो ।

बैठकमा प्रचण्डसहित माओवादी केन्द्रका केही पदाधिकारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायत केही पदाधिकारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत उपस्थित रहेका छन् ।

शनिबार हुने राष्ट्रपति निर्वाचनका लागि आजको बैठकले निर्णय गर्नसक्ने बालुवाटार स्रोतको दाबी रहेको छ । यसअघि पनि चरणबद्ध वार्ता भइसकेका थिए ।

यसअघि बिहीबार तत्कालिन कांग्रेस माओवादीसहितको गठबन्धनले माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने खबरहरु बाहिरिएको थियो । यद्यपि त्यो नै अन्तिम निर्णय नभएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले लोकपथलाई जानकारी दिए । सो विषयमा छलफल भएको र प्रधानमन्त्रीसहित अन्य नेताहरु सकारात्मक भए पनि त्यसलाई टुंग्याउन बाँकी रहेको उनले बताए । ‘त्यस विषयमा छलफल व्यापक भएको हो । तत्कालिन गठबन्धनबाट साझा उम्मेदवार बनाउने भन्ने आएको पनि हो तर त्यो नै अन्तिम निर्णय भने होइन । अहिले बैठकले केही निर्णय गर्ला ।’ खतिवडाले लोकपथसँग भने ।

गत पुस १० गते मुखमा आएको सत्ता गुमेपछि कांग्रेसले राष्ट्रपति पाउने बाटो कुरेर बसेको थियो । यता प्रधानमन्त्री र उनको दल माअ‍ोवादीले नेकपा एमालेलाई राष्ट्रपति दिएर जान नसक्ने संकेत गरेसँगै तत्कालिन गठबन्धन ब्यूत्याँउन नेताहरु लागि परेका छन् । सोही अनुसार राष्ट्रपति निर्वाचनका लागि साझा उम्मेदवारको खोजी भइरहेको छ । माधवकुमार नेपालकै नाम अघि आए पनि कांग्रेसबाट केही नेताहरुको नाम समेत जोडदार रुपमा अघि आएको छ । त्यसो हुँदा एकीकृत समाजवादीले कांग्रेससँग समेत सो विषयमा छलफल गरेको खतिवडाले बताए । यदी नेपालकै नाममा सहमति गर्ने भन्ने कुरा कांग्रेसको हातमा रहेको उनले बताए ।

‘हाम्रो पार्टीले राष्ट्रपति पाउने विकल्पका रुपमा हामीले कांग्रेससँग पनि छलफल र वार्ता गरेका छौँ । उता कांग्रेसबाट पनि आकांक्षा देखिएको कारण यो नै हुन्छ भन्न सकिँदैन ।’ उनले भने ।

साथै पार्टी अध्यक्षको हैसियतमा नेपालको नाम अघि आए पनि पार्टीले सो विषयमा आधिकारीक निर्णय भने भइ नसकेको उनको भनाइ रहेको छ ।

गत पुस १० गते प्रचण्डले तत्कालिन गठबन्धन छाडेर एमालेसँग मिलेर सरकार बनाएसँगै राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई सघाउने विषयमा सहमति भएको थियो । तर सरकार गठनको केही समयपछि नै प्रचण्डसहित माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क बलियो बनाउँदै लगेपछि एमाले सशंकित बनेको थियो । अन्तमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकीकरणसहित राष्ट्रपतिमा नेपालको नाम अघि सारेका थिए । तर स्वंय नेपालले सो विषयमा भर गर्न नसकिने भन्दै तत्कालिन गठबन्धन ब्यूताउन लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?