काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा मनोनयनको दिनसम्म टुंगो लाग्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले मनोनयनको अन्तिम दिनसम्म कुरा टुंगिने प्रतिक्रिया दिए ।
सञ्चारकर्मीहरुले प्रधानमन्त्री ज्यू राष्ट्रपतिमा कहिलेसम्म सहमति हुन्छ ? भन्दै प्रश्न गरेका थिए । सो क्रममा प्रचण्डले भने, ‘भैहाल्छ नी १३ गते त टुंगिहाल्छ नी’
सञ्चारकर्मीहरुले पुरानै गठबन्धन ब्यूउतिन लागेको हो भन्दै पुनः प्रश्न गरेका थिए । प्रचण्डले अहिले त्यस विषयमा केही पनि नभएको बताए । ‘अहिले फाइनल छैन केही पनि ।’ प्रचण्डले हाँस्दै जवाफ दिए ।
यता प्रधानमन्त्रीसँग भेट्न सिंहदरबार पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि सञ्चारकर्मीहरुले राष्ट्रपतिको विषयमा के हुँदैछ भनेर प्रश्न गरेका थिए । सो क्रममा नेपालले कुराकानी चलिरहेको प्रतिक्रिया दिए । त्यस्तै आज भोलिमा सबै कुरा टुंगिने उनले भनाइ थियो ।
राष्ट्रपतिको विषयमा तपाइँको कुरा चाँही के छ ? पत्रकारको प्रश्न थियो । उनले आफ्नो मात्र नभएर देशको राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गनुपर्ने बताए ।
‘मेरो मात्रै होइन । कसरी देशको राजनीतिलाई अगाडि बढाउने भन्ने विषय पनि मुख्य हो ।’ उनले भने ।
त्यस्तै पूरानो कांग्रेससहितको गठबन्धन ब्यूँताउने भन्ने विषयमा के भइरहेको छ भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘अनेक अप्सनहरु छन् हाम्रा सामुमा, ती मध्ये उपयुक्त के हुन्छ । जुन अप्सनले देशको राजनीतिलाई ठिक दिशामा अघि लैजान सक्छ । देशको संविधानलाई जोगाउन सक्छ । राष्ट्रिय एकता बचाउँन भूमिका खेल्छ । त्यही अप्सनमा जानुपर्छ । त्यही भएर यहाँ कुन व्यक्ति र पार्टीले पाउने भन्ने भन्दा पनि कसरी देशको समस्यालाई सम्बोधन गर्न सकिन्छ त्यहि अनुसार अघि बढ्नुपर्छ ।’
राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताका लागि २ दिन मात्रै समय बाँकी रहँदा अझै कुन पार्टीबाट को उम्मेदवार बन्ने भन्ने विषयमा टुंगिएको छैन । एकातिर प्रधानमन्त्रीले पुस १० को सहमति अनुसार एमालेको उम्मेदवारमा सहमति गर्न नसक्ने सवाल बाहिरिएपछि वर्तमान गठबन्धनमा खटपट पैदा भइरहेको छ । भने अर्कोतिर कांग्रेस माओवादीसहित एकीकृत समाजवादी पूरानो कांग्रेस माओवादीसहितको गठबन्धन ब्यूँताउने तयारीमा लागेका छन् । सो सन्दर्भमा आज सिंहदरबारमा प्रधानमन्त्रीसँग नेपालले छलफल गरेका थिए ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । जसको लागि शनिबारको लागि राष्ट्रपतिको उम्मेदवार मनोनयनको मिति तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया