राष्ट्रपतिबारे दलहरुले बढाए छलफल, आज निर्णायक वार्ता हुँदै

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै राजनीनिक दलहरुले सघन रुपमा छलफल अघि बढाएका छन् । भावी राष्ट्रपतिमा सहमतिको वातावरण बनाउन पार्टीभित्र र बाहिर दलहरुसँगको संवाद तीव्र पारेका छन् ।

सहमतिका लागि त्यसअघि नै दलहरुबीच विभिन्न चरणमा अनौपचारिक वार्ता तथा छलफल भइरहेको छ । राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन् । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । आगामी फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुँदैछ । त्यस्तै, सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी छ ।

बैठक राष्ट्रपतिको उम्मेदवार चयनमा केन्द्रित हुनेछ । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवारका लागि अघि सार्ने निर्णय गरिसकेको छ । यसले बुधबार कांग्रेस, माओवादीका शीर्ष नेताहरुसँग सहयोगका लागि छुट्टाछुट्टै छलफल गरेको छ ।

यस्तै हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पनि छलफल भएको थियो । उक्त छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । सोही बैठकमा भएको कुराकानी अनुसार आज माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल गर्ने तयारी गरिएको हो ।

गत पुस १० मा प्रधानमन्त्रीका लागि सहमति हुन नसक्दा पाँचदलीय गठबन्धन टुटेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद त्यसबेला गठबन्धन भत्किएको थियो । एमाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत भएपछि नयाँ गठबन्धन बनेको थियो ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर, दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने राजनीतिक दलका नेताहरुले दाबी गर्दै आएका छन् ।

पुस २६ गते प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले राष्ट्रिय सहमतिको अडान लिँदै आएपछि सत्तारुढ दल माओवादी र एमालेबीचको छलफल निष्कर्षबिहीन हुँदै आएको छ । जसले नयाँ गठबन्धन भत्किने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?